
बुटवल, १६ असार ।
लुम्बिनी प्रदेशको माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक नतिजा सुधार भएको छ । परीक्षामा सामेल भएका विद्यार्थीमध्ये ६२ दशमलव ३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
प्रदेशबाट नियमित परीक्षामा सहभागी भएका ७३ हजार ९ सय ३ परीक्षार्थीमध्ये ४६ हजार ५४ विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । जसमध्ये ६ हजार ५ सय ६१ जनाले ३ दशमलव ६ देखि ४ जीपीए, १२ हजार ८ सय ९५ जनाले ३ दशमलव २ देखि ३ दशममलव ६ जीपीए, १५ हजार २ सय ७० जनाले २ दशममलव ८ देखि ३ दशमलव २ जीपीए, १० हजार ४२ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, १ हजार १ सय ३८ जनाले २ देखि २ दशमलव ४ जीपीए र २ जनाले १ दशमलव ६ देखि २ जीपीएसम्म ग्रेड ल्याएका छन् ।
२०८० को एसईईमा लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये ४९ हजार २२४ विद्यार्थी अनुत्तीर्ण भएका थिए ।
यसैबिच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई दिए । उनले शिक्षालाई प्रदेश सरकारले प्राथमिक एजेन्डामा राखेको बताए । शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सरकार नीतिगत सुधार र आवश्यक संरचनागत व्यवस्थापनमा प्रतिबद्ध रहेको उनको भनाइ थियो ।



लाइभदाङ । १६ असार २०८२, सोमबार १९:३९ बजे