दंगीशरण थारु राजाको हुलाक टिकट बन्दै

तुलसीपुर, १६ भदौ । दंगीशरण थारु राजाको हुलाक टिकट बन्ने भएको छ । त्यसकालागि प्रक्रिया अन्तिम चरणमा पुगेको तुलसीपुर उपमहानगरपालिका वडा नं.११ का वडाध्यक्ष मानबहादुर रावतले बताउनुभयो ।

उहाँका अनुसार तुलसीपुर ११ सुकौरामा थारु राजा दंगीशरणले राज गरेको भन्दै त्यो क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नकालागि टिकट बनाउन लागिएको हो । सुकौराको इतिहासलाई जीवान्त राख्नकालागि यो कार्यले भूमिका खेल्ने वडाध्यक्ष रावतको भनाई छ ।“यो एतिहासिक ठाउँलाई साँच्चिकै ब्यबस्थित गर्नकालागि हामीले हुलाक टिकट निर्माण गर्न लागेका हौं”,उहाँले भन्नुभयो“यसले सुकौरालाई जिवान्त राख्नेछ ।”

टिकेटमा राख्ने नाम र फोटो वडाले रिफारिश गरेर पठाएमा तत्काल टिकट बन्ने भन्दै केही दिनमा उक्त सिफारिश पठाइने वडाध्यक्ष रावतको भनाई छ । उहाँका अनुसार टिकटमा ‘दंगीशरण थारु राजाको दरबार, सुकौरा दाङ’ राखेर पठाउने तयारी रहेको छ । थारु अगुवाहरुसंग छलफल पछि उक्त नाम टुंग्याएको भन्दै सोही नाम नै सिफारिश गर्ने उहाँले बताउनुभयो । साथै राजदरबार क्षेत्रको भग्नावशेषको फोटो राख्ने सहमति भएको छ ।

थारु कल्यानकारिणी सभा दाङ क्षेत्र नं.३ का सचिब जितेन्द्र चौधरी टिकट निर्माण कार्य स्रहानिय भएको बताउनुभयो । तर, नाम भने‘ दंगीशरण थारु राजाको दरबार, सुकौरा दाङ’ नै राख्नु पर्ने बताउनुभयो । त्यो बाहेक अन्य नाम राख्दा थारु राजाको इतिहास नै मेटिने भन्दै यसमा ख्याल गर्नुपर्ने बताउनुभयो । त्यो नाम नराखिएमा थारु समुदायले विरोध समेत जनाउने बताउनुभयो ।

थारु राजाले राज गरेको एतिहासिक ठाउँ भएकाले त्यहाँको भग्नावशेष जोगाउनु पनि अति आबश्यक रहेको भन्दै अन्या संरचना निर्माण गर्ने नाममा इतिहास मेटाउन नहुँने सोही वडाका थारु अगुवा महेश थारुले बताउनुभयो । टिकट निर्माण भएमा त्यहाँ हेर्न जानेको पनि उत्तिकै घुइँचो लाग्न सक्ने भन्दै त्यहाँको एतिहासिक कुरालाई जोगाउन सक्नु पर्ने उहाँको भनाई छ ।

सुकौराकोटको इतिहास
सुकौराकोटमा राजधानी बनाएर राज्य सञ्चालन गरेका दंगीशरणले सिकार खेलेको, नुहाएको र राजकाज गर्ने क्रममा कोटलगायतका संरचना अहिले पनि देख्न सकिन्छ । राजकाज गर्ने समयमा दाङमा औलो लाग्ने भएकाले दंगीशरण राजा गर्मी छल्न जाने जाने ठाउँलाई राजाकोट भन्ने गरिन्छ ।

सुकौराकोटदेखि सिधै दक्षिणतर्फको चुरे पर्वतको सबैभन्दा अग्लो ठाउँमा गर्मीयाममा बस्ने भएकाले यसलाई राजाकोट भनिएको किम्वदन्ती रहेको छ । त्यस्तै राजाको दरबार रहेको ठाउँदेखि उत्तरमा पर्ने वनमा दंगीशरणले सिकार खेल्ने गर्थे ।


दंगीशरण रानीवनको साथै दाङको पश्चिम मठौरीमा रहेको एक्ला पहाड, चुरे तथा महाभारत लेकमा सिकार गरेर फर्किने क्रममा आफ्नी रानीसँगै बुल्बुल्या तालमा नुहाएर सुकौराकोटमा फर्किने गरेको किंवदन्ती रहेको छ । थारु अगुवा महेश थारुका अनुसार दंगीशरण निःसन्तान रहेका र सन्तान प्राप्तिका लागि दंगीशरण र उनकी रानी बुल्बुल्या तालमा नुहाउने गरेका थिए ।

हरेक वर्ष १ माघमा सन्तान प्राप्तिका बुल्बुल्या तालमा नुहाउने गरेको धार्मिक मान्यता छ । सोहीअनुसार सन्तान नभएका दम्पतीले नुहाउन आउने गर्दछन् । बुलबुल गरेर पानी निस्कने भएकाले उक्त ताललाई बुल्बुल्या भनिएको हो । बुल्बुल्या तालमा मासिक रक्तश्राव भएका महिलाले नुहाउन नमिल्ने भनिन्थ्यो ।े मासिक रक्तश्राव भएकाले नुहाए महिला बिरामी पर्ने गर्थे ।

राजकाज गर्ने क्रममा जनताको पिरमर्का बुझ्न दंगीशरण दरबार बाहिर निस्केपछि रातगाउँस्थित जरुवाको पानी पिउने गरेको थारु अगुवा रामशरण चौधरीले बताए ।

अन्य राजारजौटाबाट आफ्नो सम्पत्ति जोगाउन राजा दंगीशरणले दंगीशरण गाउँपालिका–१, रहपुरस्थित चुरे पर्वतको फेदमा धन गाडेको भन्ने गरिन्छ । त्यस ठाउँमा अहिले पनि ढुंगाजस्तो देखिने चिल्लो खालको प्राचीन रुपैयाँ र परापूर्वकालमा प्रयोग भएका माटाका भाँडा र इँटाका टुक्रा अवशेषका रूपमा देख्न सकिन्छ । राजा दंगीशरणले आफूसँग भएका रुपैयाँ, पैसा सोही टापुमा गाडेकाले त्यसको नाम धनटाकुरा रहन गएको भन्ने जनविश्वास छ ।

पशुपालन गर्दै दंगीशरण गाउँपालिका–१, रहरपुरस्थित चुरै पर्वतको फेदमा आइपुगेका गोपाल वंशका बाह्रजना ग्वालाले गाडेको लट्ठी उम्रेको इतिहासस्वरूप सालको रूख अहिले पनि देख्न सकिन्छ । गाई, भैँसी चराउँदै आएका बाह्रजना ग्वालाले रोपेको रूख भएको सो ठाउँलाई ‘बार बर्दियन्हक लठ्ठा’ भन्ने गरिन्छ । १२ ग्वालाले आफूमध्येका एकजनालाई समूहबाट हटाएको र समूहबाट हटाइएका ग्वालाले रोपेको रूख पनि अहिलेसम्म जीवितै रहेको दाबी छ ।

खेतीपातीका लागि पानी नपरे पूजा गर्ने ठाउँलाई ‘बैकरह्वक् पर्वत’ भनिन्छ । पानी नपरेमा पानी पारिदिनका लागि ‘बैकरह्वा’देवताको पूजा गरेपछि पानी पर्ने विश्वास छ । चुरे पर्वतअन्तर्गत दंगीशरण गाउँपालिका–१, मलई भन्ने स्थानमा उक्त बैकरह्वा देवता रहेका छन् । बैकरह्वालाई थारू जातिले इन्द्रदेवताका रूपमा पूजा गर्ने गरेका छन् ।

बिस १९४२ मा दंगीशरण गाउँपालिका–४, बैवाङका रघुनाथ चौधरीकी श्रीमती सती गएको स्थानमा ‘सतीदेवी’ मन्दिर निर्माण गरिएको छ । उनी सती जाने वेला सतीप्रथा अन्त्य भइसकेको थियो । सती मन्दिर रहेको स्थानमा बबई नदी रहेको र सो स्थानमा ठूलो ताल थियो । रघुनाथको मृत्यु भएपछि उनकी श्रीमतीले सती जाने इच्छा गनरिन । तर, प्रहरी, प्रशासनले रोक लगाए । तैपनि उनले पतिसँग सती गएरै छाड्ने अडान लिएको किम्बदन्ती रहेको छ ।