
दीपक बोहरा
दाङ, ८ असार । दाङ तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷०८३ कालागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आईतबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सिचाई, विद्युत र सञ्चार लगायतका पूर्वाधार प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।
जस अनुसार वडामा कृषक सञ्जाल गठन गर्ने, विषादि परिक्षण प्रयोगशालाको स्थापना गर्ने, कृषियोग्य जमिनको खण्डीकरण नियन्त्रण गर्ने, सहकारीे मर्जरलाई प्रोत्साहन गर्ने, निष्कृय एवं खराब सहकारीहरुको खारेज गर्ने,
गरिब घरपरिवारको जीविकोपार्जनका कार्यक्रम चलाउने, ‘एक वडा एक पर्यटकीय स्थल’ बनाउने, तालतलैया तथा नदीहरुमा जलयात्रा सञ्चालन गर्ने समावेश गरिएको छ ।
त्यस्तै बालविकास केन्द्रहरूको मापदण्ड निर्माण गर्ने, महिला शिक्षक सुत्केरी बिदामा रहँदा तथा शिक्षक अनुपस्थिति रहँदा शिक्षक वैङ्क स्थापना गरी स्वेच्छिक शिक्षकको प्रबन्ध गर्ने, ‘एक विद्यार्थी, एक बिरुवा कार्यक्रम अघि बढाउने, तुलसीपुरको सडक अस्पाल्ट कन्स्रेट प्रबिधिमा कालोपत्रे गर्ने,सडकका दुवै किनारामा वृक्षारोपण तथा रोड सेफ्टीको लागि रोड मार्किङ गरिने, भित्री चत्रपथको स्तर उन्नती गरि ठूला सवारीलाई वाइपासको ब्यबस्था गर्ने, अपाङ्गमैत्री सडक निर्माण गर्ने, अन्तरपालिका चक्रपथ निर्माणको अवधारणा अगाडि बढाइने, नगरक्षेत्र भित्री आधुनिक बस्ती स्थापनाको लागि ल्यान्ड पुलिङको सम्भाब्यता अध्ययन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
त्यस्तै पुराना बस्तीहरु भएका ठाँउहरुमा शहरलाई सुन्दर तथा जनतालाई संवृद्ध बनाउन हाउस पुलिङ गरिने, पार्किंङलाई ब्यवस्थित गर्न बेसमेन्ट निर्माण गर्ने, बनिसकेका भवनहरुलाई प्रबलीकरण गरि तला थपको निर्माणको अनुमती दिने, सुख्खा क्षेत्रमा आकाशे पानी संकलन प्रविधिलाई विकास गरी प्रयोगमा ल्याइने, भुमिहिन, दलित, सुकुम्वासी र अव्यवस्थित वसोवससीले उपभोग गरेको जग्गा र घरवासको नापनक्सा गरी यसै आर्थिक वर्षमा जग्गाघनी पुर्जा वितरण गर्ने व्यवस्था मिलाईने नीति तथा कार्यक्रममा समावेश छ ।
फोहर व्यवस्थापनमा नीजि क्षेत्र समेतलाई प्रोत्साहन गरी सार्वजनिक – नीजि साझेदारी कार्यक्रम मार्फत फोहोरमैला व्यवस्थापन गरिने, स्थायी ल्याण्डफिल साईडको व्यवस्था गर्न आवश्यक पहल गर्ने, ‘साथमै सरकार, हातमै सरकार’को नारा साकार पार्न सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा आम नागरिकको पहुँच अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा समावेश छ ।



लाइभदाङ । ८ असार २०८२, आईतवार २३:०० बजे