दलित सशक्तिकरण तथा महिला आत्मनिर्भरताकालागि तालिम सम्पन्न

किरण विश्वकर्मा
तुलसीपुर, ८ असार ।
दलित सशक्तिकरण र महिला आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित दाङको तुलसीपुर–१७ मानपुरमा सञ्चालित पञ्चेबाजा, अचार तथा चुरा–पोते बनाउने तालिम सम्पन्न भएको छ।

‘सामाजिक रुपान्तरणका लागि हाम्रो अभियान दाङ’ र ‘तुलसी सामुदायिक विकास केन्द्र’को संयुक्त आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिका–१७ को आर्थिक सहयोगमा सञ्चालन भएको तालिमबाट करिब १०० जना सहभागीहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

कार्यक्रमको समापन सत्रमा सभापतित्व अभियानका अध्यक्ष भीम विश्वकर्माले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष थलराज पुरी रहनुभएको थियो। वक्ताहरूले सिकेका सीपलाई व्यवहारमा उतार्न सके रोजगार तथा आम्दानीको माध्यम बन्ने स्पष्ट पारे।


कार्यक्रममा वडा सचिव गोपाल न्यौपाने, जनप्रतिनिधि सुनिता परियार, गीता राना, विजय लम्साल, तथा शशिधर पौडेल लगायतले आ–आफ्ना धारणा राख्दै सीपमूलक तालिमले समुदायको सामाजिक र आर्थिक रुपान्तरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको स्वागत मन्तव्य आयोजक संस्थाका उपाध्यक्ष राम बहादुर नेपालीले दिनुभएको थियो भने सहजीकरण तुलसी सामुदायिक विकास केन्द्रका अध्यक्ष गणेश भण्डारीले गर्नुभएको थियो।

सामाजिक रुपान्तरण, सांस्कृतिक पहिचानको संरक्षण तथा महिला सशक्तिकरणतर्फ ठोस योगदान पुर्‍याउने विश्वासका साथ तालिम समापन गरिएको आयोजकले जनाएको छ।