हाकिम जाँच दिन काठमाडौं जाने भएपछि सेवा नै बन्द, विरोध पछि खोलियो

दीपक बोहरा
दाङ, ६ असार ।
इलाका प्रशासन कार्यालय लमहीका कार्यालय प्रमुख अनिल रिजाल परीक्षाकालागि काठमाडौं जाने भएपछि सेवा नै बन्दको सूचना निकालियो । विहीबार शाखा अधिकृत रिजाल आफैले काम विशेषले काठमाडौं जाने भएपछि ८ दिनसम्म सेवा ठप्प हुने भनि सूचना जारी गरे ।

६ असारदेखि १३ असारसम्म नागरिकता वितरण,नवालक परिचयपत्र जारी तथा प्रमाणित गर्ने कार्य बन्द हुने सूचना निकालियो । प्रमुख रिजाल नै विदामा बसेपछि कार्यालयमा अन्य शाखा अधिकृत छैनन् । जसले गर्दा पनि बन्द गर्नुपर्ने अवस्था रहेको नायब सुब्बा इश्वरी भारतीले बताईन् ।“घोराही(जिल्ला प्रशासन)बाट सर आउछु भन्नु भएको छ”,उनले भनिन् “ उहाँ आएपछि यो कामहरु पनि हुन्छ, कार्यालयबाट हुने सेवा पनि रोकिदैन ।” यो सूचना सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो । पछि सूचना हटाईएको छ ।


टाढा–टाढाबाट सेवाग्राही आउने र सेवा नपाउँदा दुःख मात्रै हुने भएकाले पनि यो सूचना निकालिएको उनले बताईन् । अन्य राष्ट्रिय परिचयपत्र दर्ता, राहादानी दर्ता तथा वितरणका कार्यहरु भने हुनेछन् ।