
दाङ, ६ असार ।
दाङ तुलसिपुर उपमहानगरपालिका–१०, बनगाउँमा करेन्ट लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान साढे ५ बजेतिर लत्रिएको विद्युत तारमा मोटरसाइकल र साइकल जाँदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार बनगाउँबाट तुलसिपुर बजारतर्फ जाँदै गरेको रा १ प ७७७० नम्बरको मोटरसाइकल र एक साइकल विद्युत प्रवाह भइरहेको लत्रिएको तारमा छोएको कारणले करेन्ट लागेर घाइते भएका हुन् ।
घाइते हुनेमा तुलसीपुर–११ बेलगनार निवासी ४८ वर्षीइ देसुराम चौधरी र तुलसीपुर–१० बनगाउँ निवासी ५२ वर्षीय चक्रपाणि अधिकारी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले बताए ।
देसुराम चौधरीको हात, खुट्टा र छातीमा चोट लागेको छ भने चक्रपाणि अधिकारीको दुबै खुट्टामा चोट लागेको दाङ प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको र राप्ती प्रादेशिक अस्पताल तुलसिपुरमा उपचार भइरहेको छ।
घटनास्थलमा विद्युत प्राधिकरणको टोली पुगेर तार व्यवस्थापन गरिएको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल र साइकललाई प्रहरी चौकी उरहरीले नियन्त्रणमा लिएको छ।



लाइभदाङ । ६ असार २०८२, शुक्रबार ०९:११ बजे