प्रथम उपमेयर कप आमन्त्रित महिला फुटबल सुरु, दाङको बिजयी सुरुवात

लक्ष्मण बस्नेत
दाङ, २५ चैत  ।
दाङको बेल्झुन्डिमा आज देखि प्रथम उपमेयर कप आमन्त्रित महिला फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा स्कुल स्पोर्ट्स फुटबल एकेडेमी (एसएसएफए) तुलसीपुरको सहकार्यमा संचालित प्रतियोगिताको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमेयर चौधरीले जिल्लामा महिला फुटबलका गतिबिधीलाई थप चलाएमान बनाउदै अन्य जिल्ला संगको आपसी खेल सम्बन्धलाई फराकिलो बनाउन नगरले आमन्त्रित फुटबलको आयोजना गरेको बताउनुभयो ।

जिल्लामा महिला फुटबलको विकास र बिस्तारसंगै प्रतिभावान खेलाडिको पहिचान गर्ने उदेश्य ले संचालित प्रतियोगिताको उद्घाटन खेलमा दाङले बिजयी सुरुवात गरेको छ ।

छिमेकी जिल्ला बाँकेलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै दाङले बिजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफ्को सुरुवाती २ औं मिनेटमा ममता मगरले पहिलो गोले गर्दै टिमलाई १–० को अग्रता दिलाईन । त्यस्तै उनले पहिलो हाफ्मा थप २ गोल गर्दा दिपा पुन र बिनिता खड्काले थप १र१ गोल गरे ।

पहिलो हाफ्मा ५–० को अग्रता कायम राखेको दाङका तर्फबाट खेलको दोस्रो हाफ्मा ममता मगरले थप १ गोल गर्दै टिम लाई ६–० को जित दिलाउन सफल भइन ।


प्रतियोगिता अन्तरगत भोलि मंगलबार बर्दिया र कपिलबस्तु जिल्ला भिड्नेछन् । खेल दिउँसो साढे दुई बजे बाट सुरु हुने प्रतियोगिताका संयोजक जितु डागिले जानकारी दिनु भएको छ ।

तीन दिनसम्म संचालित प्रतियोगिताको बिजेता,उपबिजेता टिमले क्रमशः नगद ५५ र ३५ हजार, कप,मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर,बेष्ट मिड फिल्डर,बेष्ट डिफेन्स,हाई स्कोरर,बेष्ट किप्पर र बेष्ट कोच लाई जनही नगद दुई हजार पाँच सय र ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितामा दाङ, बाके, बर्दिया,कपिलबस्तु र रुपन्देही जिल्लाका महिला फुटबल टिमको सहभागिता रहेको छ । यसैबिच सोही अवसरमा प्रतियोगितालाई थप रोचक बनाउन तुलसीपुर उपमहानगरपालिकाका महिला जनप्रतिनिधि र कर्मचारी बिच भएको मैत्रीपुर्ण फुटबलमा कर्मचारीको टिम १–० गोलले बिजयी भएको थियो ।

स्कुल स्पोर्ट्स एकेडेमीका अध्यक्ष सुधिर गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोह राष्ट्रिय, अन्ताराष्ट्रीय खेलाडी, खेलप्रेमी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्थानिय जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । एकेडेमीका सदस्य सन्दिप गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन मदन मुस्कानले गर्नु भएको थियो ।