मुख्यमन्त्रीद्वारा स्थायी राजधानीमा बनेका संरचनाको अवलोकन

तुलसीपुर
१५ मङ्सिर / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी भालुवाङमा बनेका संरचनाको अवलोकन गर्नुभएको छ । बुधबार मुख्यमन्त्री कार्यालय तथा आवास निर्माण स्थल, प्रमुख सचिबको आवास,प्रदेशसभा भवनलगायतका संरचनाको अवलोकन गर्नुभएको हो । भालुवाङमा मुख्यमन्त्रीको कार्यालय, आवास, प्रमुख सचिबको आवास, प्रदेशसभा भवन निर्माण भइसकेको छ ।

राप्ती गाउँपालिका वडा नं.३ लालमटिया स्थित राप्ती प्राबिधिक शिक्षालयलाई एक महिना अघि सरस्वति माविमा स्तान्तरण भएपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयकालागि संरचना तयार गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिईओ छविराज पोखरेलले बताउनुभयो ।

२०५० सालमा स्थापना भएको राप्ती गाउँपालिका वडा नं. ५ स्थित राप्ती प्राबिधिक शिक्षालय १६ विघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउन सक्ने एउटा सभाहल समेत छ । साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो ।


प्राधिकरणका इञ्जिनियर विष्णु केसीका अनुसार प्रदेशसभा भवन निर्माणको काम पनि अन्तिम चरणमा छ । प्रदेशसभा भवन निर्माणकालागि १ अर्व २० करोड बजेट थियो । वाइवी स्टोन बिल्ड्रर्स प्रालिले उक्त निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठाहरू बनेका छन् ।

स्थायी राजधानी तोकिएपनि अहिलेसम्म भालुवाङबाट कामकाज हुन सकेको छैन । ग्रामिण तथा शहरी विकास मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा सरेपनि काम भने बुटवलबाट हुँदै आएको छ । स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आबश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भइ काम गर्दै आएको छ । त्यस्तै प्रदेश पूर्वाधार प्राधिकरण अन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ ।

२०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकावडा नं. १,२ र ३ तथा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नं. ८ र ९ लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । जतिबेला एक बर्ष भित्र स्थायी मुकामबाट काम सुरु भनिएको थियो । तर, अहिलेसम्म पनि स्थायी राजधानी सार्न सकिएको छैन ।