घोराही–तुलसीपुर चारलेनः प्राविधिक प्रस्ताब खोलेपछि ठेक्का पाउनेको अनुमान

दीपक बोहरा
दाङ, २ असार । दाङको घोराही–तुलसीपुर चारलेन सडकको ठेक्का आह्वान भएको चार महिना पछि प्राबिधिक प्रस्ताब खोलिएको छ । सोमबार प्राबिधिक प्रस्ताब खोलेपछि धेरैले कसलाई ठेक्का पर्छ, भन्ने चासो पनि दिइरहेका छन् । प्राबिधिक प्रस्ताबमा चारवटा निर्माण ब्यबसायीको पास भएको छ । उद्यपी पाँच वटा निर्माण ब्यबसायीले प्रस्ताब पेश गरेका थिए ।

जसमा रौतह/खानी जेभी प्राइभेट लिमिटेड त्रियुगा नगरपालिका उदयपुर, लामा कन्स्ट्रक्सन कम्पनी प्रालि, महाराजगञ्ज काठमाडौं, आशिस निर्माण सेवा प्रालि, भक्तपुर–१० चितवन र दिवा÷बन्दन भगवती जेभी बत्तिसपुतली काठमाडौं छन्।

यी चार कम्पनी मध्ये घटीघटाउमा सबै भन्दा कम रकम कबोल गरेकोलाई ठेक्का पर्ने हो ।“प्राबिधिक प्रस्ताब चारवटा कम्पनीलाई परेको छ, अब यी कम्पनीको आर्थिक प्रस्ताबको मूल्यांकन हुन्छ”, सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले भने“मूल्यांकन पछि विभागमा जान्छ र विभागले सम्झौताकालागि ७ दिने सूचना निकाल्छ ।”

सीमित कम्पनीले मात्रै टेन्डर हालेको र कुन–कुन कम्पनीले हालेको भन्ने कुरा थाहा भएपछि कबोल रकम पनि लगभग–लगभग थाहा हुने भएपछि अनुमान गरिएको हुन सक्ने उनले बताए । यद्यपी अहिले नै कसले ठेक्का पायो भनेर आधिकारिक भने नआउने उनले बताए ।

अहिले ठेक्का आह्वानको सबै काम मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले गरिहेको छ । त्यही भएकाले पनि सबै कुरा आफूलाई थाहा नभएपछि आयोजनाका प्रमुखहरुसंग सूचना लिएर आफूले जानकारी दिएको उनी बताउछन् ।“अहिले सबै कुरा त हामीलाई थाहा हुँदैन, कम कबोल गर्नेहरुको सूची आएपछि मेल पनि जाने र चासो राख्नेहरुले बुझ्न सक्ने भएकाले पनि बाहिर थाहा भएको हुन सक्छ”,उनले भने ।


सामाजिक सञ्जालमा दिवा बन्दना भगवती जेभिले ठेक्का पाएको कुरा चर्चामा आएको छ । यद्यपी आधिकारिक जानकारी पाउनकालागि अझै दुई हप्ताजति लाग्न सक्छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुखको सचिबालयबाट नै उक्त कम्पनीले पाएको भनि सार्वजनिक भएको छ । दाङमा धेरैले यो विषयमा चासो पनि दिएका छन् ।

चारलेनको ठेक्काको काम अहिले मदन भण्डारी निर्देशनालयले नै हेरिरहेको भएपनि सम्झौता पछि भने जिल्लामा आउन सक्ने उनी बताउछन् ।“बाहिरबाट हेर्न सक्ने अबस्था रहदैन”,उनले भने“सडक डिभिजन कार्यालय दाङले नै हेर्ने गरि दिन्छ होला, यसो हुँदा अनुगमन, मूल्यांकन गर्न पनि सजिलो हुन्छ ।”

हाल ३ अर्ब ९९ करोडमा ठेक्का आह्वान भएको छ । तुलसीपुरको हात्तिखौवादेखि घोराहीको डिके पेट्रोलसम्मसम्म २१ किलोमिटर सडक चारलेन हुनेहो । जसमा विविएम र अस्पाल्ट प्रबिधिबाट कालोपत्रे हुनेछ । फागुन १ गते टेन्डर आह्वान भएको थियो । तर, टेन्डर आह्वान भएपनि त्यसको प्रक्रिया भने अघि बढ्न सकेको थिएन । सम्झौता भएपछि ३ बर्षमा काम सक्नु पर्नेछ ।

यसअघि यो सडक स्तरोन्नतिको काम २०७५ पुस १३ गतेबाट काम सुरू गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले ठेक्का पाएको थियो। सम्झौतामा ३० महिनाभित्र सडक विस्तारको काम सक्नुपर्ने भएपनि ६ वर्षसम्म जम्मा १० प्रतिशत मात्रै काम गरेकाले ठेक्का रद्द भएको थिो ।