लुम्बिनी प्रदेशसभा सदस्य यादवको निलम्बन फुकुवा

दीपक बोहरा
दाङ,२२ जेठ ।
लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादवको निलम्बन फुकुवा भएको छ। निलम्बन फुकुवा भएको पत्र प्रदेशसभा सभामुख तुलाराम घर्तीले प्रदेशसभाको मंगलबारको बैठकमा सुनाएका थिए ।

यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बनमा थिए । तर, विशेष अदालतले सफाई दिएपछि उनको निलम्बन फुकुवा भएको हो । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुन् ।


वन पैदावारमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै उनी विरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनी गएको ११ फागुनमा निलम्बनमा परेका थिए।