
रुकुम पश्चिम, २ साउन ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ।
बाँफिकोट गाउँपालिका–१, माथिगाउँका ३० वर्षीय अजय मल्लको बिहीबार राति मुरापाखा डाँडाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो।
मल्ल रुकुम पूर्वको सिस्ने गाउँपालिकामा भलिबल खेलेर साथीसँग घर फर्किँदै गर्दा बाँफिकोट–२ स्थित मुरापाखा डाँडाबाट करिब १०० मिटर तल खोल्सामा खसेका थिए।
गम्भीर घाइते अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरी प्राथमिक स्वास्थ्य चौकी, बाँफिकोट–२ मा पुर्याइएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल सल्ले पठाइएको तर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



लाइभदाङ । ३ श्रावण २०८२, शुक्रबार १६:३० बजे