प्रादेशिक अस्पतालः अनुमति ५० बेड, सञ्चालन १४४

तुलसीपुर, २२ जेठ ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालको ५० बेडको अनुमति भएपनि एकसय ४४ बेड सञ्चालन गरिरहेको छ ।२०६५ सालमा अस्पतालले ५० बेडको अनुमति पाएको हो । तत्कालिन अवस्थामा विरामीको चाप पनि न्यून हुने, सेवा पनि सीमित हुँदा त्यसले सेवा प्रवाहमा सहजता नै थियो ।

तर, विरामीको चाप पनि बढेको र सेवा पनि थपिदै जाँदा बेड थप्नु पर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए । “हाम्रो दरबन्दी ५० बेडकै छ”,उनले भने “तर, हामीले एकसय ४४ बेडको सञ्चालन गरेका छौं, यसले हामीलाई निकै भार थपेको छ ।” अहिले अस्पतालमा कन्सलटेन्ट डाक्टरको दरबन्दी १४ जनाको हो तर, बेड थपसंगै १८ जना डाक्टरले काम गरिरहेको उनले बताए ।

स्थायी कन्सलटेन्ट डाक्टर ११ जना रहेको र बाँकी ७ जना करारमा नियुक्त गरिएको डा. अधिकारीले बताए । त्यस्तै मेडिकल अफिसर ७ जनाको दरबन्दी हो । तर, अहिले स्थायी ६ जना र १८ जना करारमा नियुक्त गरि २४ जना बनाईएको छ । जम्मा ७२ जना डाँक्टर, स्टाफनर्स तथा कर्मचारीको दरबन्दी रहेकोमा हाल अस्पताल विकास समितिको निर्णय अनुसार २ सय ३५ जना राखिएको बताए ।


यसरी अस्पताल विकास समितिलाई पनि भार पर्ने अवस्था समेत आएको र ५० बेडको मात्रै संरचना र दरबन्दी हुँदा निकै आलोचना खेप्नु परेको डा. अधिकारीको भनाई छ । दुईसय बेड बनाउनकालागि धेरै पहल भएपनि त्यसको काम अघि बढ्न नसकेको भन्दै यसलाई पूर्णता दिनतर्फ लाग्ने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्रराज लामिछानेले बताए । “अस्पतालमा विरामीको चाप बढिरहेको छ, धेरैले रेफर अस्पताल भनेर गुनासो पनि गर्नुहुन्छ”,उनले भने “यसलाई सुधार गर्न तर्फ म लागिरहेको छु ।”

आगामी आर्थिक वर्षमा दुईसय बेडको स्वीकृति हुने गरि बजेट पनि आउने कुरामा आफू ढुक्क रहेको अध्यक्ष लामिछानेले बताए । अस्पताललाई दुईसय बेड बनाउनु पर्ने आवाज चौतर्फी उठिरहेको छ । साभारः अग्रिम साप्ताहिक