
निरला अर्याल
दाङ, २० जेठ ।
नेपाल नेत्रज्योति संघ, राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा निःशुल्क आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । २५३ जनाको आँखा जाँच गरिएकोमा ३२ जना मोतियाबिन्दुका बिरामी फेला परेका छन् । ११९ जनालाई हेल्पिङ ह्यान्ड्स हेल्थ एण्ड एजुकेशन इन्टरनेशनल को सहयोगमा निःशुल्क चश्मा वितरण गरिएको थियो ।
राप्ती आँखा अस्पतालले सञ्चालन गरेको निःशुल्क आँखा स्वास्थ्य शिविरले स्थानीय वृद्धवृद्धाहरूमा आशा र खुसी थपिदिएको छ। ८२ वर्षीय युवराज डाँगी, जो तरकारी खेतमा काम गर्दा चोट लागेर बायाँ आँखाको दृष्टि गुमाएका थिए, उक्त शिविरमा दायाँ आँखा चेक गराउन आए। नातिनी बुहारीबाट शिविरको जानकारी पाएपछि उपचारमा आउनुभएका डाँगीले अब बाँकी आँखाको दृष्टि बचेकोमा खुसी व्यक्त गर्नुभयो। ‘उमेरका कारण अस्पताल जान सक्दिनथे, घर आँगनमै अस्पताल आइदिएकोमा धन्य छु,’ उहाँले भन्नुभयो।
त्यस्तै, ८२ वर्षकै वनसरी विक १४ वर्षको उमेरमा बायाँ आँखाको दृष्टि गुमाएकी थिइन्। धामीझाँक्रीको भरमा वर्षौंदेखि उपचार गरिरहेकी विक अहिले दोस्रो आँखाको सुरक्षाका लागि शिविरमा आएकी थिइन्। ‘अब ढुक्क छु, पटक–पटक आँखा जाँच गरिरहन्छु,’ विकले भन्नुभयो।
डाँगी र विकजस्ता प्रतिनिधि पात्रमात्र होइनन्, शिविरमा धेरैजसो वृद्धवृद्धा मोतियाबिन्दु र अन्य दृष्टिगत समस्याले ग्रस्त भयको नेत्र सहायक सुष्मा बस्नेत ले जानकारी दिनु भयो।
आँखा स्वास्थ्य सेवामा पहुंच नपुगेका स्थानहरूमा राप्ती आँखा अस्पतालले निःशुल्क सिविरले पुण्यको काम गरेको घोराही उपहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडेलले जानकारी दिनु भयो । चस्माका कारणले दैनिक क्रियाकलापमा कठिनाई भएका नागरिकलाई खुसी मिलेको र शिविर ले कार्यक्रम थप प्रभावकारी भयको प्रमुख पौडेलले बताउनुभयो ।
राप्ती आँखा अस्पतालले दृष्टि गुमाउने खतरा भएका व्यक्तिहरूको पहिचान गर्दै जिल्लाका दुर्गम क्षेत्रहरूमा आँखा शिविर सञ्चालन गर्दै आएको कार्यक्रम सहसंयोजक पूर्णबहादुर वलीले जानकारी दिनुभयो ।



लाइभदाङ । २१ जेष्ठ २०८२, मंगलवार ०९:०३ बजे