प्रादेशिक अस्पतालका सटरको टेन्डर गर्न किन आलटाल ?

दीपक बोहरा
दाङ,२५ असोज ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका ब्यापारिक सटरहरुको म्याद सकिएपनि टेन्डर हुन सकेको छैन । सटरवालाहरुले दिएको मितिमा खाली गरेका छैनन् । १६ वटा सटरको सम्झौता मिति गएको असार मसान्तमा सकिएको थियो । म्याद सकिएपछि २३ असारमा ति सटर खाली गर्न अस्पताल प्रशासनले चिठी पनि पठाएको थियो भने सूचना पनि जारी गरेको थियो ।

तर, सटरवालाहरुले त्यसलाई वास्ता गरेका छैनन् । त्यति मात्रै होईन् सटरवालाहरुले अस्वभाविक रुपमा चलखेल गर्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले नै राजीनामा दिए । यद्यपी उनको राजीनामा स्वीकृत भएको छैन ।

२ वर्ष अघि पदम प्रसाद न्यौपाने अध्यक्ष हुँदा नै ति सटरहरुमा टेन्डर गर्ने भनि निर्णय भएको थियो । तत्कालिन अवस्थामा त्यो निर्णय कार्यान्वयन भएन । केही समय अघि अध्यक्ष भइ आएका महेन्द्र लामिछानेले पनि सटरहरुको टेन्डर गर्ने निर्णय गराएका थिए । तर, न्यौपानेलाई नै अध्यक्ष कायम गर्न अदालतले आदेश गरेपछि उनी पुनः आए । र, उनी आएपनि त्यो निर्णय कार्यान्वयन भएन ।


सटरहरु न्यून भाडामा दिईएको छ । यसरी न्यून भाडा हुँदा अस्पतालले त्यसबाट प्रयाप्त आम्दानी पनि लिन सकिरहेको छैन । स्रोतले दिएको जानकारी अनुसार आन्तरिक रुपमा सम्झौता गरेर म्याद नवीकरण गर्ने तयारी पनि छ । तर, केहीले त्यसको विरोध गरेका छन् । जसले गर्दा टेन्डर गर्नुपर्ने माग बढिरहेको छ । अस्पताल विकास समितिको निर्णय नै भइसकेकाले केही समयमा टेन्डर गर्ने तयारी रहेको अस्पतालका प्रशासन प्रमुख हुकम वलीले बताए ।“छिटै टेन्डर गर्ने तयारी गरेका छौं”,उनले भने“यो विषयमा छलफल भइरहेको छ ।”

साझाको विषय पनि पेचिलो
अस्पताल फार्मेसी सेवा निर्देशिका अनुसार अस्पताल परिसरमा बाहिरका फार्मेसी राख्न मिल्दैन । तर, अस्पतालको हात्ताभित्रै साझा फार्मेसी छ । त्यसलाई हटाउने पनि निर्णय भयो । तर, त्यसलाई पनि हटाउन आनाकानी भएको छ । साझालाई हटाएर आफ्नै फार्मेसी विस्तार गर्ने गरि तयारी भएपनि त्यो सफल हुन सकेको छैन ।

अस्पताल विकास समितिका अध्यक्ष पदमराज न्यौपानेले अस्पतालका सटर हटाउने विषय पेचिलो भएको यस अघि नै प्रतिक्रिया दिएका थिए । टेन्डरको विषय पेचिलो भएकाले पनि राजीनामा आएको समेत उनको प्रतिक्रिया थियो ।“निर्णय नै भइसकेको विषय भएकाले पछाडी हट्न पनि नसकिने भयो”,उनले भने “अगाडी बढ्दा पनि अवरोध धेरै हुने भयो, त्यसलाई पनि थेग्न गाह्रो भयो होला ।” अहिल्यै साझालाई हटाएमा अस्पतालले औषधी पनि पु¥याउन नसक्ने भन्दै हटाउन पनि गाह्रो हुने उनले बताए । यद्यपी अहिलेका सटरलाई भत्काएर पर्खाल बनाउने र अस्पताल आफैले प्रयोग गर्ने गरि पनि योजना बनाउने विषयमा आफूले सोचिरहेको अध्यक्ष न्यौपानेको भनाई छ ।