
दाङ, ११ जेठ ।
दाङको तुल्सीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलका कक्षा १० का विद्यार्थीहरूले आज रेडियो प्रकृति एफएमको अवलोकन गरेका छन्। अवलोकनको क्रममा विद्यार्थीहरूले रेडियोको महत्व, भूमिका र यसको समाजमा पहुँचबारे अध्ययन गरेका थिए।
स्टुडियोमै बसेर गरिएको कक्षामा रेडियो प्रकृति एफएमका स्टेसन म्यानेजर उपेन्द्र बस्नेतले रेडियोको इतिहास, वर्तमान महत्व र विद्यार्थीका लागि रेडियोले खेल्ने भूमिकाबारे जानकारी दिनुभएको थियो। उहाँले रेडियोलाई समुदायसँग जोड्ने जीवन्त माध्यम भन्दै यसको सामाजिक भूमिका र विश्वसनीयता विशेष महत्त्वको भएको बताउनुभयो।
विद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मजगुयाँले विद्यार्थीलाई किताबमा मात्र सिमित नराखी व्यावहारिक ज्ञान दिनुपर्ने उद्देश्यले स्टुडियोमा अवलोकन गराइएको जानकारी दिनुभयो। उहाँले लामो समयदेखि रेडियो क्षेत्रमा क्रियाशील व्यक्तिबाट प्रत्यक्ष सिकाइ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
विद्यार्थीहरूले स्टुडियोमा कार्यक्रम निर्माण प्रक्रिया, प्रसारण प्रविधि र रेडियो सञ्चालन प्रणालीबारे जानकारी लिएका थिए। साथै, प्रस्तोतासँग प्रत्यक्ष संवाद गर्दै आफू पनि राम्रा उद्घोषक बन्न सक्ने प्रेरणा पाएको प्रतिक्रिया दिएका छन्। विद्यालयले विद्यार्थीको सिर्जनात्मकता र व्यावहारिक क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।



लाइभदाङ । १२ जेष्ठ २०८२, आईतवार २१:५३ बजे