तुलसीपुरका होटेलमा प्रहरीको छापा, १७ जना पक्राउ

तुलसीपुर, ९ जेठ ।
दाङको तुलसीपुरमा अवैध गतिविधिमा संलग्न भएको आशंकामा प्रहरीले आज एकैसाथ दर्जनौं होटेलमा छापा मारेको छ। आज शुक्रबार होटेलमा छापा मारेर अबैध कृयाकलापमा संलग्न रहेको आरोपमा १७ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरको बसपार्कस्थित न्युरोडमा रहेको रुकमेली खलंगा गेष्ट हाउससहित सो क्षेत्रका १० भन्दा धेरै होटेलमा छापा मार्दा ६ वटा होटेलमा संकास्पद रुपमा बसेका १७ जनालाई पक्राउ गरिएको हो । जसमा होटेल सञ्चालकसहित ९ जना पुरुष र ८ जना महिला रहेको प्रहरी निरीक्षक रानाले बताउनुभयो । उनीहरुमाथी आवश्यक अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।


तुलसीपुरका होटेलहरुमा विभिन्न किसिमका अवैध कृयाकलाप हुने गरेको व्यापक गुनासो आउन थालेपछी छापा मारेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तीहरुमाथी आवश्यक अनुसन्धान भइरहेकाले उनीहरुको नाम खुलाइएको छैन ।