
तुल बहादुर कवँर मगर
मसुरिया, २६ वैशाख ।
दाङको राप्ती गाउँपालिकाले समृद्धिका लागि वन परियोजना अन्तर्गत सार्वजनिक तथा निजी खाली जग्गामा वृक्षारोपण गर्नका लागि जग्गाको खोजी थालेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्ययोजनाअनुसार व्यक्तिगत, समूह तथा सहकारीहरूको खाली जग्गामा वृक्षारोपण तथा कृषि वन स्थापना गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गर्न लागेको हो।
कार्यक्रम अन्तर्गत महिला, दलित, विपन्न तथा दैनिक गुजारा गर्ने परिवारहरूलाई प्राथमिकतामा राखिने र १०० प्रतिशत विरुवा उपलब्ध गराई त्यसमा ५० प्रतिशत अनुदानसमेत प्रदान गरिने जनाइएको छ। इच्छुक कृषक, सहकारी तथा समूहहरूले १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन सक्ने व्यवस्था गरिएको वन प्राविधिक विपिन भुसालले जानकारी दिनुभयो।
राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले वातावरण संरक्षण, हरियाली विस्तार र स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभयो। “खाली रहेका जग्गाहरूलाई प्रयोगमा ल्याएर दीर्घकालीन रुपमा लाभ लिन सकिने भएकाले हामीले सार्वजनिक सूचना जारी गरी जग्गाको खोजी गरिरहेका छौं,” उहाँले भन्नुभयो।



गाउँपालिकाले जारी गरेको सूचनाअनुसार कार्यक्रममा सहभागी हुन चाहनेहरूले कार्यक्रममा सहभागि हुन इच्छुक रहेको माग निवेदन,वृक्षारोपण गर्न चाहेको वनजन्य प्रजाति र संख्या, नेपाली नागरिकताको प्रतिलिपि,जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि, मालपोत तिरेको रसिद, कृषक समूह/ कृषि सहकारी/कृषि फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि,समूह बैठको निर्णयको प्रतिपिलि (समूहको हकमा) विवरणजस्ता आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
लाइभदाङ । २६ बैशाख २०८२, शुक्रबार ०८:०३ बजे