
दाङ, २३ वैशाख। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा एकै घरका चारजना दृष्टिविहीनको घर बन्न सुरु भएको छ । तुलसीपुरका ब्यबसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरि सोमबारदेखि घर निर्माण थालिएको हो ।
एकै घरका चारजना दृष्टिविहीन २३ बर्षीय गणेश गन्दर्भ, उनकी बहिनी गंगा,जमुना र मनिशा जन्मजात नै दृष्टिविहीन हुन् । मनिशा दृष्टिविहीनसंग बहु अपाङ्ग छन् । १६ बर्षीया मनिशा डिहडुल पनि गर्न सक्दिनन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको गरायला घर भएका उनीहरु २०६८ सालमा दाङको तुलसीपुर झरे । आमा रुपा गन्दर्भले चार छोराछोरीलाई तुलसीपुर आएका हुन् । सबै छोराछोरी दृष्टिविहीन जन्मिएपछि श्रीमानले अर्की श्रमिति विवाह गरिन । त्यसपछि रुपालाई कुनै हेरचाह नै नगर्ने तथा घरबाट निकाला गरेपछि बिचल्ली अबस्थामा उहाँलाई उद्दार गरेर तत्कालिन अबस्थामा दाङको तुलसीपुर स्थित रक्षाचौर ल्याईएको थियो ।
बिभिन्न ब्यक्ती तथा संस्थाहरुको सहयोगमा उनीहरु ाङको तुलसीपुर आएपनि भाडाको घरमा बस्दै आएका छन् । “कहिल्यै कसको घरमा भाडामा बस्यौं, कहिल्यै कसको घरमा”, गणेशले भने “लामो समय कसैले पनि बस्न दिएनन ।” यसरी भाडामा बस्दा पनि पीडा झेलेका उनीहरुको अहिले घर निर्माण हुन थालेपछि भने खुसी छन् । सारंगी बजाएर, गीत गाएर गणशले आम्दानी गर्छन् । त्यसैले घर खर्च चल्ने गरेको थियो । तर,अब घर बनेपछि भाडा तिर्नुपर्ने अबस्था नआउने गणेशले बताए । “भाडा तिर्न पनि गाह्रो हुन्थ्यो”, गणेशले भने “घर बनेपछि भने अब सहज हुनेभयो ।”
करिब १५ लाख जति लागतको अनुमान गरेर घर निर्माण सुरु गरिएको निर्माण समितिका संयोजक केसीले बताए । “सबै सन्तान दृष्टिविहीन, घरबास पनि भएन”,उनले भने “त्यसपछि हामीले घर बनाईदिने गरि काम अघि बढाएका छौं ।” अबको एक महिना भित्र घर निर्माण पूरा भइसक्ने उनको भनाई छ । यसै क्रममा केसीले अहिलेसम्म घर निर्माणकालागि ४० हजार रुपैँया सहयोग गरिसकेका छन् ।
निर्माण भइरहेकाले लाग्ने सबै खर्च ब्यहोर्ने गरि काम अघि बढाईरहेको उनले बताए । दृष्टिविहीन गणेशसहित गंगा जमुना गुरुजजुर नमुना माविमा ब्रेललिपी मार्फत अध्ययन गर्छन । हाल आमा रुपाको खातामा बिभिन्न संघसंस्थाको सहयोगमा १० बर्ष अघि ७ लाख रुपैँया सहयोग संकलन भएको थियो । त्यो रकम बैंकमा मुद्दती खातामा छ । त्यसबाट आउने मासिक ब्याजले पनि घर खर्च चलाउन सजिलो भएको छ । घर निर्माणको सदस्य सचिब पत्रकार सरद रेग्मी छन्, भने डिजाइन इन्जिनियर पवन योगीले गरेका हुन् ।



लाइभदाङ । २३ बैशाख २०८२, मंगलवार ०७:४५ बजे