तुलसीपुरको कक्षा ८ को नतिजा : सरकारी मात्रै होईन्, निजिको पनि खस्किदै

दीपक बोहरा
दाङ, २८ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षामा तुलसीपुरका तीन वटा विद्यालयले एक जना पनि विद्यार्थी पास गराउन सकेनन् । ति सामुदायिक विद्यालय थिए । मावि बेलझुण्डी, मावि प्रतापकोट र जनजागृति मावि पातुवनगाउँले एक जना पनि विद्यार्थी उत्तीर्ण गराउन सकेनन् । तुलसीपुर उपमहानगरपालिका भित्रका ३७ वटा सामुदायिक विद्यालयबाट एक हजार ७ सय ९३ जना विद्यार्थीले कक्षा ८ को परीक्षा दिएका थिए । ति मध्ये ३२.५७ प्रतिशत अर्थात ५ सय ८४ विद्यार्थी मात्रै उत्तीर्ण भए । एक हजार दुईसय ९ विद्यार्थी उत्तीर्ण हुन सकेनन् । उत्तीर्ण नभएका मध्ये ७ सय ९१ जना विद्यार्थीलाई दुई वटा विषयमा फेल भए, भने ४ सय १८ जना विद्यार्थीहरुले तीन वटा भन्दा बढि विषयमा पास गर्न सकेनन् ।

निजिको पनि उस्तै छ, हालत
निजि विद्यालयको पनि तुलनात्मक रुपमा खस्किदै गएको छ । कुनै समय सतप्रतिशत उत्तीर्ण गराउने गरेका निजि विद्यालयहरुले पनि यस वर्ष शत प्रतिशत पास गराउन सकेनन् । शत प्रतिशत पास गराउने निजि विद्यालयमा ६ वटा विद्यालय रहे । ति पनि न्यून विद्यार्थी रहेका विद्यालय हुन् । जस्तै तुलसीपुर–६ को सरस्वती इंग्लिस मिडियम स्कुलबाट १० जनाले परीक्षा दिएका थिए, जसले १० जनानै पास गराउन सफल रहे । सोही वडाको गुरुकुल एकाडेमीबाट ४ जनाले परीक्षा दिएका थिए, जहाँबाट चारैजना उत्तीर्ण भए । तुलसीपुर–८ को शिशुनिकेतन इंग्लिस बोर्डिङ स्कुलका ७ जनामध्ये सातै जना, तुलसीपुर–१० को ग्यालेक्सी स्कुलका २६ जना मध्ये २६ जना नै पास भए, भने तुलसीपुर–१५ को लोकप्रिय बालविकास एकाडेमीका ९ जना मध्ये ९ जना नै पास भए ।

त्यस्तै तुलसीपुर–१८ स्थित हिमचुली इंग्लिस बोर्डिङ स्कुलका ९ जना मध्ये ९ जना नै उत्तीर्ण भएका थिए । यी न्युन विद्यार्थी भएकाहरुले सबै विद्यार्थी उत्तीर्ण गराउन सफल भए । उद्यपी केही विद्यालयहरु जो धेरै विद्यार्थी थिए–ति निजि विद्यालयहरुले पनि राम्रै विद्यार्थी उत्तीर्ण गराउन सफल भए । तुलसीपुरको तुलसी आवासिय माविले १ सय ७१ विद्यार्थी मध्ये १ सय ६८ विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ, त्यस्तै गोरखा माविले १ सय ९९ विद्यार्थी मध्ये १ सय ९५ जना विद्यार्थी उत्तीर्ण बनाउन सफल भएको छ । त्यस्तै ज्ञानज्योतिले ७७ जना मध्ये ६४ जना विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । यस्ता थुप्रै विद्यालयले ९० प्रतिशत भन्दा बढि विद्यार्थी उत्तीर्र्ण गराउन सफल भएका छन् । तर, केही निजि विद्यालयले ५० प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण गराएका छन् ।

तुलसीपुर–६ स्थित दाङ भ्याली इंग्लिस बोर्डिङ स्कुलले ९ जना विद्यार्थी मध्ये २ जना मात्रै उत्तीर्ण बनाउन सफल भएको छ, त्यस्तै सोही वडाको राप्ती विद्या मन्दिरले १४ जना विद्यार्थी मध्ये  ६ जना, तुलसीपुर–१२ को दिब्यज्योति स्कुलले ४६ मध्ये २२ जना,  तुलसीपुर–१८ को बालअमृत स्कुलले ४५ जना मध्ये १८ जना,  सोही वडाको लक्ष्मी इंग्लिस बोर्डिङ स्कुलले २१ जना विद्यार्थी मध्ये १० जनालाई उत्तीर्ण गराउन सफल भएको छ ।

निजि विद्यालयबाट जम्मा २ हजार ३ सय ५७ विद्यार्थीले परीक्षा दिएकोमा १ हजार ९ सय ६१ विद्यार्थी उत्तिर्ण भएका छन्, भने ३ सय ९६ विद्यार्थी अनुतिर्ण भएका छन् । जसमध्ये ३ सय ७३ जना विद्यार्थीहरू दुई विषय लागेका विद्यार्थी छन्, भने तीन भन्दा बढि विषय लागेकाहरु २३ जना छन् ।

गणित लाग्ने धेरै
अधिकांस विद्यार्थीहरू गणितमा अनुत्तिर्ण भएका छन् । तुलसीपुरउपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार धेरै विद्यार्थीमा गणित विषय लागेको छ, भने त्यसपछि विज्ञान विषय लागेको छ । गणित विषयमा शिक्षकहरू पनि गम्भीर नभएकाले यस्तो समस्या देखिएको उनको भनाई थियो । “गणित विषयमा धेरै अनुत्तिर्ण भए, त्यसपछि विज्ञानमा समस्या देखियो”,उनले भने “यदि गणित मात्रै पास गर्न सकेको भए, यति धेरै अनुत्तिर्ण हुने अवस्था आउने थिएन ।” विगतमा पनि गणितमा समस्या थियो, अहिले पनि त्यही समस्या आएकाले आगामी वर्ष गणित सुधार कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

के थियो विगतको नतिजा ?
संस्थागत विद्यालयमा गत वर्ष ९४ दशमलव १४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए यो वर्ष ८३ दशमलव २० प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । सामुदायिक विद्यालयमा पनि गत वर्ष ४१ प्रतिशत विद्यार्थी उत्तीर्ण  भएकोमा यो वर्ष ३२ दशमलव ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।


यस वर्ष सामुदायिक विद्यालयका १ हजार ७ सय ९३ जना विद्यार्थी परिक्षामा सहभागी भएकामध्ये ५ सय ८४ जनामात्रै उत्तीर्ण भएका छन् । गत वर्ष सामुदायिक विद्यालयका १ हजार ८ सय ५५ विद्यार्थी परिक्षामा सहभागी भएकामध्ये ७ सय ५६ जना उत्तीर्ण भएका थिए । यो वर्ष संस्थागत विद्यालयबाट २ हजार ३ सय ५७ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा १ हजार ९ सय ६१ जनामात्रै उत्तीर्ण भएका छन् ।

७ बैशाखमा ग्रेड वृद्धि परीक्षा
चार वटा विषयसम्म लागेका विद्यार्थीहरू ग्रेडवृद्धि परिक्षामा सहभागीता जनाउन पाउने भएका छन् । ग्रेड वृद्धि परिक्षा बैशाख ७ गते देखि हुने शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए । तुलसीपुरका ३७ सामुदायिक र ५९ संस्थागत विद्यालयबाट विद्यार्थीले कक्षा ८ को वार्षिक परिक्षा दिएका हुन् । तुलसीपुर उपमहानगर–पालिकाले चैत ३ गतेदेखि सञ्चालन गरेको कक्षा ८ को नगरस्तरीय परीक्षा चैत ९ गते सम्पन्न भएको थियो । परीक्षा सम्पन्न भएको १३ दिनपछि शिक्षा महाशाखाले नतिजा सार्वजनिक गरेको हो ।

घोराहीमाको पनि हालत उस्तै
दाङको घोराहीको पनि कक्षा ८ को नतिजा कम्जोर देखिएको छ । घोराहीको नमुना विद्यालयकै नतिजा कमजोर छ । जस अन्तर्गत घोराही–१८ को अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारीको नतिजा शून्य देखिएको छ । शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षामा अध्ययनतर २६ जना विद्यार्थीमध्ये २२ जना परीक्षामा सहभागी भएकोमा कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । यसैगरी वडा नं. १९ को भगवती मावि होडबाङले दुई दशमलव ७८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण गराएको छ । विद्यालयबाट ३६ जना परीक्षामा सहभागी भएकामध्ये एकजना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यसैगरी वडा नं.४ को आधारभूत विद्यालय सुनपुरका पाँच प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट परीक्षामा २० जना सहभागी भएका विद्यार्थीमध्ये एक जना उत्तीर्ण भएको छन् ।

यसैगरी सबैभन्दा धेरै विद्यार्थी आधारभूत विद्यालय चाक्लीघाटबाट उत्तीर्ण भएका छन् । ८५ दशमलव ७१ प्रतिशत अर्थात् परीक्षामा सहभागी भएका सात जना विद्यार्थीमध्ये छ जना उत्तीर्ण भएका छन् । यसैगरी आधरभूत विद्यालय गिठेपानीबाट ६४ दशमलव २५ प्रतिशत अर्थात् १४ जना सहभाग विद्यार्थीमध्ये नौ जना, महेन्द्र मावि धर्नाबाट ६२ दशमलव ०७ प्रतिशत अर्थात् ९८ जना सहभागी विद्यार्थीमध्ये ३६ जना उत्तीर्ण भएका छन् ।

बंगलाचुलीमा २० प्रतिशत मात्रै उत्तीर्ण
दाङको बंगलाचुली गाउँपालिकामा पनि कक्षा ८ को नतिजा कमजोर देखिएको छ । गाउँपालिका भर जम्मा २०.१ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् । गाउँपालिकाले सार्वजनिक गरेको नतिजा अनुसार गाउँपालिका भरबाट ४ सय ७८ जनाले परिक्षा दिएकोमा जम्मा ९६ जना मात्र उत्तीर्ण भएको हो । जसअन्तर्गत प्रतिशतको हिसाबले सबै भन्दा धेरै त्रिभुवन जनआधारभुत विद्यालय फाँटामा ६९.२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उक्त विद्यालयमा १३ जना विद्यार्थीले परिक्षा दिएकोमा ९ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै सार्वजनिक नतिजा अनुसार सबैभन्दा कमजोर नतिजा कालिका आधारभुत विद्यालय बढिपोखराको देखिएको छ । जहाँ ४.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सो विद्यालयमा २२ जना विद्यार्थीले परिक्षा दिएकोमा १ जना मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । साभारः अग्रिम साप्ताहिक