जनवादी विवाह गर्दाको त्यो क्षण

प्रकाश चौधरी
जनवादी विवाहको सन्दर्भमा आ–आफ्ना तर्क हुन सक्छन् । यसलाई कसैले प्रगतिशिल विवाह, कसैले मञ्च विवाह भन्ने गर्दछन् ।

जस्ले जे भने पनि हाम्रो समाजमा हुने गरेको तामझाम, खर्चिलो परम्परा सहितको परम्परागत विवाह भन्दा कम खर्चमा तामझाम रहित दाइजो विहिन विवाहलाई जनवादी विवाह भन्न सकिन्छ । हाम्रो समाजमा भैरहेका खर्च प्रणालीमा व्यापक प्रयोग, भोजभतेर, गरगहना प्रदर्शनलगायतका आर्थिक प्रतिस्पर्धा भन्दा सामान्य प्रक्रिया पूरा गरी अति कम खर्चमा उमेर पुगेका युवायुवति बीच हुने विवाहलाई लिन सकिन्छ ।

अझ यसलाई गहिरिएर हेर्ने हो भने नेकपा माओवादीले जनयुद्धको समयमा यो अभ्यास लागु गरेको थियो । माओवादी जनयुद्धको क्रममा जनवादी विवाह एक राजनीतिक र सांस्कृतिक अभ्यास थियो । जुन क्रियाकलापले पारस्परिक विवाह संस्कारहरुमा विद्यमान जातीय, वर्गीय, लैंगिक र आर्थिक विभेदहरुलाई चुनौति दिने उद्देश्यले यो जनवादी विवाह संस्कृति अंगालेको थियो ।

यो जनवादी विवाह माओवादी आन्दोलनको अवधीमा आफ्ना कार्यकर्ताहरुबीच गरिने एक विशेष प्रकार र शैलीको विवाहको रुपमा पनि लिन सकिन्छ । यसैगरी जनयुद्धको विकासक्रममा जातीय र वर्गीय विभाजनलाई तोड्नका लागि अन्र्तजातीय र अन्तरवर्गीय विभाजनलाई प्रोत्साहन गरेको थियो ।

सामन्ती र पूँजीवादी संस्कृतिको विरोध स्वरुप सादा र तामझाम रहित समारोहका बीच सम्पन्न हुने गर्दथ्यो भने दुवैपक्षको सहमति र समान अधिकार सुनिश्चित गर्न समानता र स्वीकृतिमा आधारित सम्वन्ध स्थापित गरेको थियो । यी र यस्ता गतिविधिले जातीय र वर्गीय भेदभाव विरुद्धको सन्देश, सामाजिक/सांस्कृतिक रुपान्तरणको प्रयास, महिला सशक्तिकरणको अभियानले नेपाली समाजमा गहिरो प्रभाव पार्न सफल भएको थियो ।

विवाह एउटा प्रेमसंग गाँसिएको विषय पनि हो । माक्र्सवादी संस्कृति अनुसार चरणबद्ध रुपमा प्रेम, विवाह र यौनलाई व्याख्या गरेको पाइन्छ । यस प्रक्रियालाई नै वैज्ञानिक संस्कृतिको रुपमा स्वीकार्न सकिन्छ । तर पूँँजीवादी संस्कृतिमा प्रेम, यौन र विवाहलाई महत्व दिएको हुन्छ ।

यो गलत संस्कार नेपाली समाजमा पनि देखिन खोजेको पाइन्छ । प्रेमको बारेमा महान विद्धान जेनी माक्र्सले भनेका छन् –“प्रेमले मानिसलाई उत्साहित बनाउँछ भने दुःखले मानिसलाई स्पात बनाउँछ ।”उहाँको यो भनाईले धेरै सक्षम तथा वयस्क युवाहरुमा मनछुने गर्दछ ।

दुःखले मानिसलाई धेरै जिम्मेवार र सक्षम हुन सिकाउँदो रहेछ । जो अनुभवमा आधारित हुने गर्दछ । त्यसैगरी प्रेम शब्द र व्यवहारिक ज्ञानले पनि उत्साहित बनाउँने रहेछ । जो ज्ञान सिप, क्षमता, र दक्षतामा आधारित हुने गर्दछ । यस्ता विषयलाई लिएर हाम्रो समाजले आँखा डुलाईरहेका हुन्छन् ।

मैले बुझे अनुसार जीवनको पहिलो अध्याय यस धर्तीमा पाइला टेकिसकेपछिको अर्थात जन्मेदेखिको बाल्यकालको अवस्थालाई लिन सकिन्छ । जीवनको बाल्यकाल पहिला भन्दा अहिले निकै प्रविधिले माथि उठाएको छ । बालापनको उमेर फर्केर आउने कुरा भएन सबैले विभिन्न संघर्षका बीच सुखमय तरिकाले बिताएको अनुभव हुन्छ भने त्यसपछिको दोस्रो अध्यायको रुपमा विवाहलाई लिन सकिन्छ ।

म एउटा जनवादी विवाह गर्ने एक पात्र भएकोले सामाजिक/सांस्कृतिक रुपमा यस जनवादी विवाहलाई नमूना विवाहको रुपमा लिएको थिए । प्रसङग अहिलेको होइन आजभन्दा १८ बर्ष अगाडिको हो । २०६५ साल बैशाख २१ गतेको दिन बैवाहिक जिवनमा बाँधिएको थिए ।

जीवनको दोस्रो अध्याय सुरु गरेको दिन थियो मेरो लागि । समाज परिवर्तनको लहर व्यापक थियो । त्यतिबेला कहिले जनसेनाहरुको क्याम्पहरुमा २१ जोडिको विवाह एकै साथ भएको खवर, कहिले कुनै समारोहमा ४/५ जोडिको जनवादी विवाह जस्ता खवरले प्रभावित बनाएपछि म पनि परम्परागत विवाह भन्दा जनवादी विवाह प्रति आकर्षित भएको थिए ।


परिवर्तनको आन्दोलन जनयुद्धको एक सिपाही अर्थात एक कार्यकर्ताको हैसियतले परिवर्तित समाजमा परिवर्तनको लहरमा सामेल हुनु मेरो लागि कुनै नौलो विषय त थिएन तर पनि समाजमा रहेका विकृति, विसंगति, भेदभाव, वर्गीय भेदभाव जस्ता विषयका विरुद्ध नयाँ अभियान थाल्नुपर्छ भनेर जनवादी विवाहप्रति रुचि जागेको थियो । त्यही रुचि र सपना पूरा गर्नु मेरो कर्तव्य पनि थियो ।

कसरी भएको थियो विवाह 
म त्यत्तिबेला विद्यार्थी संगठनमा थिए । अखिल क्रान्तिकारीको दाङ जिल्ला उपाध्यक्षको हैसियत प्राप्त थियो । पार्टी, संगठन सबै युद्धवाट शान्तिप्रक्रियामा प्रवेश गरिसकेको अवस्था थियो ।

संविधान सभाको निर्वाचन २०६४ पनि सम्पन्न भैसकेको थियो । विद्यार्थी संगठन निर्माणको शिलशिलामा चिनजान भैसकेको थियो मेरो उनी संग । केही समय सम्म मायाप्रेमको प्रसंग नचल्ने कुरा भएन । थोर बहुत रुपमा चल्यो पनि । हामी एक अर्कामा गहिरो प्रेममा परिसकेका थियौ ।

दुवैको सहमतिमा आफ्नो विद्यार्थी नेतृत्व खुसीराम चौधरी र गणेश चौधरीलाई जानकारी गरायौ ।उहाँहरुले पार्टीसंग अनुमति माग्नुभयो । विवाहको लागि पार्टीलाई जानकारी गराउने प्रस्ताव पत्रमा दुवैले प्रकाश र निशाको हस्ताक्षर गरेर बुझाएको पत्र अनुसार बैशाख २१ गतेको दिन तोकियो ।

जब त्यो २१ गतेको दिन आयो मन कस्तो न कस्तो । हुन त खुसीको क्षण थियो तै पनि वेखुसी जस्तो । एक किसीमको उत्साह,अर्को किसीमको वैराग ।  तै पनि संस्कारको हिसाबले होस् या विज्ञानको हिसावले होस् अस्वीकार गर्ने कुरा भएन । समय बित्दै गयो । दिउँसोको साँढे १२ बजिसकेको थियो ।

घोराहीको महेन्द्र बहुमुखी क्याम्पस अगाडि विद्यार्थीको कार्यालय परिसरमा विद्यार्थी साथीभाईहरु जन्ती जानका लागि तयार थिए । घरवाट आमा बुवा र दिदि पनि कार्यालय पुगिसकेका थिए । म दुलाह भएर पनि सामान्य पहिरनमा थिए । एउटा हाइस गाडि र एउटा बोलेरो गाडिमा जन्ती हिड्यो दुलही लिन तत्कालको नारायणपुर गाविस ३ धैरेनी गाउँमा ।

त्यहाँ पनि दुलहीलाई सिम्पल रुपमा सजाएका थिए । विवाहमा आएका गाउँले आफन्तहरुले को दुलाहा भनेर चिन्न सकेनन् । सबै टोलाइरहेका जस्ता देखिन्थे । जब कार्यक्रमको आयोजना गरी वर–बधुको नाम लिएर अगाडि कुर्सीमा बस्न कार्यक्रम संचालक बसन्त चौधरीले बोलाएपछि मात्र ती टोलाईरहेका मानिसका आँखा उज्यालो भएका थिए । एकआपसमा टिका अबिर माला लगाई (दुलाहा–दुलही) बीच साटासाट गरी विवाहलाई औपचारिकता प्रदान गरियो ।

त्यसपछि अन्य साथिभाईले शुभकामना बधाई दिने कार्यक्रम जारी संगै नेतागणहरु लुमाकान्त न्यौपाने सागर, डिकम विएम विप्लब, साउने थारु, अनुपा चौधरी लगायतवाट बधाई तथा शुभकामना मन्तव्य दिने कार्य भयो । सो पश्चात केही बेरमा कार्यक्रम सम्पन्न गरी खानपिन गरी दुलही लिएर घरमा आइयो । दाइजो प्रथाको विरोध गर्ने एक अभियन्ताको हैसियतले कुनै पनि दाइजो लिने कुरा भएन ।

मात्र दुलही लिएर आइयो । जन्ती गएका साथिहरु कोही बीचबीचवाट आफ्नो घरतिर लागे भने केही साथिहरु भने घर सम्म पुग्ने काम भयो । घर पुग्दा झिसमिसे साँझ परिसकेको थियो । आमाले छोरा बुहारीलाई आर्शिवाद दिदै टिका लगाई दिएर गृह प्रवेश गराई विवाहलाई स्वागत गर्नुभयो । विवाहको दोस्रो दिन गाउँले आफन्तहरुको सल्लाह बमोजिम घर परिवारले सामान्य भोजको आयोजना गरी विवाहको औपचारिक समापन गरिएको थियो ।

हाम्रो यो विवाहले सामाजिक, सांस्कृतिक रुपान्तरणमा समुदाय स्तरमा उत्साह पैदा भएपनि निरन्तरता भने पाउन सकेको छैन । ( १८ औं वैवाहिक वर्षगाँठको अवसरमा लेखिएको अनुभूति )