तीन विद्यालयमा तीन पार्टीको भागबन्डा

दाङ
१० पुस / दाङ बबई गाउँपालिकाको तीन वटा विद्यालय व्यबस्थापन समितिकालागि त्यहाँका ठूला तीन राजनीतिक दलले भागबन्डा गरे । बबई ३ मा पर्ने हंसपुर माविलाई काँग्रेस, बबई ५ मा पर्ने पदमपुर माबिलाई एमाले र बबई ५ कै बबरपुर आधारभूत विद्यालयलाई माओवादी केन्द्रको भागमा पारियो । गएको बैशाखयता विद्यालय व्यबस्थापन समितिका पदाधिकारीको पद रिक्त थियो ।

सोही सहमति अनुसार पदमपुरमा एमालेका पूर्णबहादुर वली र हंसपुरमा काँग्रेसका टेकबहादुर वलीलाई विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बनाईयो । राजनीतिक दलको सोही सहमति अनुसार बबरपुरमा माओवादीका रमेश सुनारलाई अध्यक्ष बनाईयो । तर, बबरपुरमा भने त्यसले विवाद निम्त्यायो । काँग्रेसका एक स्थानीय नेताका अनुसार ‘तीन विद्यालयमा तीन पार्टीको भागबन्डा भएको थियो, तर, बबरपुरमा माओवादीलाई दिदा एमालेको सबै टिम र काँग्रेसका केही ब्यक्तीले असन्तुष्टी जनाए ।’

अध्यक्ष माओवादीलाई दिईएपनि दुईजना सदस्य एमालेलाई दिने भन्ने सहमति भएपनि एमालेले लिन नमानेको समेत उनले बताए । साथै सोही विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष काँग्रेसलाई दिईएको छ ।

राजनीतिक सहमति अनुसार भएको भन्दै सोही अनुसार बबरपुरमा माओवादीले तोकेको व्यक्तीलाई कुनै आपत्ति हुनुनपर्ने बताए । तर, त्यसो भएन । विहीबार अध्यक्ष चयन गरेपछि शुक्रबार विद्यालयमा ताला लगाईयो । स्रोतका अनुसार एमाले र काँग्रेसका केही व्यक्तीको उक्सावटमा विद्यालयमा ताला लगाईएको हो । १७ जना अभिभावकले सामूहिक निर्णय गरेर विद्यालयमा ताला लगाएका छन् ।
सोही कारण शुक्रबार पठन–पाठन कार्य प्रभाबित भयो ।


बिभिन्न चारवटा माग राख्दै अभिभावकले तालाबन्दी गरेको गाउँपालिकाका शिक्षा शाखा उपसंयोजक जितबहादुर केसीले बताए । विद्यालयका प्रधानाध्यापक मस्तबहादुर खड्काले एकल निर्णय गरेर विद्यालय व्यबस्थापन समिति गठन गरेको भन्दै तालाबन्दी गरिएको उनले जानकारी दिए । त्यो निर्णय बदर गर्नुपर्ने, विद्यालयको आर्थिक तथा भौतिक हिनामिना भएको भन्दै त्यसको छानविन गर्नुपर्नेलगायतका माग राखेका छन् । त्यहाँका १७ जना अभिभावकहरु सहभागि भई अभिभावकको सहमति अनुसार समिति गठन गर्नुपर्ने र प्रअको सरुवा गर्नुपर्ने समेत माग गरेका छन् ।

राजनीतिक सहमति अनुसार विद्यालय व्यबस्थापन समिति गठन गरिएको भन्दै यसमा आपत्ति जनाएर पठन–पाठन प्रभाबित पार्न नहुँने विद्यालयका प्रधानाध्यापक मस्तबहादुर खड्काले बताए ।‘मैले राजनीतिक दलहरुलाई विहीबार बोलाएँ’, उनलेभने‘राजनीतिक दलहरुको सहभागितामा विद्यालय व्यबस्थापन समिति गठन भएको हो, भागबन्डा अनुसार गरिएकाले त्यसमा आपत्ति जनाउनुपर्ने कुनै कुरा छैन ।’ लामो समय विद्यालय व्यबस्थापन समिति विहीन हुँदा विज्ञान र गणितको शिक्षक समेत अभाब हुँदा पठन–पाठन समेत प्रभाबित हुँदै आएको उनले बताए ।

सोही अनुसार छिटो विद्यालय व्यस्थापन समिति गठन गरेर शिक्षक नियुक्तीकालागि विज्ञापन खोल्ने काम पनि सुरु गर्नुपर्ने भएकाले पटक–पटक छलफल बोलाएको भएपनि केही व्यक्तीहरुले अबरोध गर्दै आएको समेत उनले बताए । साथै उनले आफूले विद्यालयको पूर्वाधार निर्माणदेखि हरेक काममा देखाएको चुस्ततालाई सहन नसकेर आरोप लगाएको समेत बताए । विद्यालयको सन्दर्भमा केही समय अघि छानविन समिति बनाएर छानविन समेत गरेको भएपनि कुनै त्रुटी फेला नपरेको समेत उनले बताए । साभार : नयाँ पत्रिका/ दीपक बोहरा