झपक्कै फुल्यो आँप

दीपक बोहरा,
तुलसीपुर, १४ चैत ।
आँप झपक्क फुलेका छन् । हेर्दा मनमोहक देखिन्छ । यस बर्ष दाङमा विगत भन्दा अत्याधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ।“अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौं”, तुलसीपुर ७ पर्सेनीका किसान नवराज सुवेदीले भन्नुभयो“यसले हामीलाई खुसी बनाएको छ ।”

आँप धेरै फुलेपनि यसलाई जोगाउन भने चुनौति रहेको अर्का किसान तुलसीपुर ९ निवासी दिवेश केसीले बताउनुभयो ।“हावाहुरी, असिना पानीले फूल झार्दिने हो की भन्ने चिन्ता छ”,उहाँले भन्नुभयो“आँप धेरै फलेपनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो की भन्ने पनि चिन्ता छ ।”

यस बर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो ।“फुलफुल्ने विरुवामा एक बर्ष अनएयर र एक बर्ष अफएयर हुन्छ”,उहाँले भन्नुभयो“यस बर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।” असिना,पानी, हावाहुरीले असर नगरेमा यस बर्ष आँप उत्पादन अत्याधिक बृद्धि हुने उहाँको भनाई छ ।


आँप उत्पादन भएपनि त्यसलाई बजारिकरणकालागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने बताउनुभयो । आँप बाहिरी जिल्लाबाट आयत गर्नुपर्ने अबस्था रहेको भन्दै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा ब्यबसायिकरणमा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

दाङको पवननगर, मानपुर र विजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ । अहिले दाङमा स्थानीय बिजु,सुपारी जातका आँप उत्पादन हुने गर्छ । त्यस्तै दसरी, माल्डा , अम्रपाली, नागपुरे ,बम्बे जातकाआँपहरु उत्पादन हुने गरेको छ । दाङमा बर्षेनी ८ हजार मेट्रिकटनको हाराहारीमा आँप उत्पादन हुनेगर्छ ।