विधि र प्रक्रिया भन्दा माथि व्यवसायको बहस

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुरमा बबई नदी थुनेर मोटरबोट सञ्चालनमा ल्याईयो । सञ्चालनमा ल्याएदेखि नै त्यो मोटरबोट विवदामा आयो । झोलुंगे पुलको मुनी भएकाले पनि विरोध गर्ने एउटा आधार पनि बन्यो । त्यति मात्रै होइन्, दर्ता प्रक्रियामा पनि नगएको र अनुमति पनि नलिएर उक्त मोटरबोट सञ्चालन गर्दा त्यसको बैधानिक आधार कमजोर भयो । त्यसको फाइदा स्थानीयले उठाए, भने विरोध गर्नेहरुलाई पनि एउटा राम्रो स्थान भयो । किनकी कानुन पालन गर्नुपर्ने सबैको कर्तब्य हुन्छ ।

युवाहरुले गरेको त्यो कार्य जल पर्यटन व्यवसायकालागि राम्रो थियो । त्यो व्यवसाय नगरेको भएपनि त्यो पानी त्यसै बग्थ्यो । विगतमा पनि बगिरहेकै थियो । तर, त्यसलाई व्यवसायमा जोड्ने कुरा राम्रो हो । त्यसमा पनि युवाहरु जोडिएरै त्यो व्यवसाय गर्नु राम्रो कुरा हो । सबैबाट प्रशंसा पनि भयो । पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेको अबस्थामा यसरी व्यवसायमा जोडिने कुरा राम्रो हो ।


तर, पछिल्लो समयका युवाहरु विधिमा कमजोर भएको भने स्वीकार गर्न सकिदैन । अनुमति लिने निकायबाट अनुमति नलिएरै सञ्चालन गर्ने कुरा ठीक होईन्, त्यसमा पनि आम रुपमा चासोको क्षेत्र, सुरक्षा संवेदनशीलतासंग जोडिएको क्षेत्रमा त झन ख्याल गर्नुपर्छ । अनुमति नलिनु भनेको राज्यको कर छलीेदेखि जवाफदेहीको कुरा पनि हुन्छ । पछिल्लो समय एउटा तर्क स्थापित भयो–युवाहरु जोडिदा किन विरोध । तर, त्यो विरोध थिएन । त्यो विधिमाथिको प्रश्न थियो । युवाहरु व्यवसायमा जोडिए भन्दैमा जुवा खेलाउने व्यवसाय सुरु गरे भनेपनि मान्य हुने ?, त्यो कुरा होईन्, विधि भनेको विधि नै हो । विधिमा टेकेर व्यवसाय गर्ने कुरा सबैलाई खुल्ला छ । भोलि यसरी नै अनुमति नलिएर आफूखुसी सबै व्यवसाय सञ्चालन गर्न थालियो, त्यसमा पनि गम्भीर–गम्भीर प्रकृतिका व्यवसाय सुरु गर्न थालियो भने त्यसले समाजलाई कता लैजाला, यस तर्फ भने सबै गम्भीर हुँनै पर्दछ । साभारः अग्रिम साप्ताहिक