मृत्यु संस्कार परिवर्तनको बहस

मृत्यु संस्कार परिवर्तनका बहस पटक–पटक उठ्ने गर्छन् । तर, परम्परागत रूपमा चलि आएको चलनलाई त्याग्न पनि सकिरहेका अवस्था छैन । केही कम्युनिष्टहरूले आफ्ना परिवारको मृत्यु हुँदा कपाल पनि नखौरिने तथा काजकिरिया नगरेर परिवर्तनको सुरुवात गरेका छन् । तर, ति छिटफुट रूपमा मात्रै हुँदा त्यसले खासै परिवर्तन ल्याउन सकेको छैन । अझै पनि मृत्यु संस्कार परिवर्तन गर्ने कुरालाई समाजले सहजै स्वीकार गर्न सकेको छैन । त्यसले गर्दा प्नि सहजै परिवर्तन गर्न सक्ने अवस्था छैन ।

अहिले पनि मान्छेको मृत्यु भएमा १३ दिनसम्म काजकिरिया गर्ने चलन छ । नुन बार्ने, वर्ष भरि टिका बार्ने जस्ता मृत्यु संस्कार छ । यसलाई समय सापेक्ष बनाउने कुरामा बहस भइरहेको छ । अहिले जुन चलन चलेको छ, त्यसले पैसा पनि खर्च हुने, मानिसको स्वास्थ्य र समय पनि खर्च हुन्छ । समाज परिवर्तन भएको छ, विज्ञान र प्रविधिको युगमा समाज प्रवेश गरेको छ । २१ औं सताप्दीमा पनि अब परम्परागत शैली अपनाउनु पर्ने कुरा समय सान्दर्भिक नहुँने भएकाले आ–आफूले परिबर्तन गर्नुपर्ने कुराहरू बहसमा आउने गर्छन् ।


मानिसको सेवा मृत्यु भन्दा पहिले गर्नुपर्छ । तर, उमेर ढल्किदै गएपछि बृद्धाश्रममा राखिदिने, हेर चाह पनि नगर्ने , मृत्यु पछि भने संस्कारका कुरा गर्ने चलन पनि बढेको छ । यो कुरालाई भने हामीले गम्भीर रूपमा मनन् गर्नैपर्छ । सच्चा सेवा मृत्यु अघि नै हुन्छ । मृत्यु पछि पैसा खर्च गरि–गरि गरिने संस्कारले खासै अर्थ राख्दैन । बरु त्यो पैसा सामाजिक काममा लगाउन सकेमा त्यसले सामाजिका रूपमा फाइदा हुन सक्छ । मृत्यु हुने त गए, त्यसले जिवित मान्छेलाई पनि सास्ती दिने कुराहरू विस्तारै परिवर्तन गर्दै जान सक्नु पर्छ । त्यसैले पनि मृत्यु संस्कार परिवर्तन गर्न तर्फ बहस थाल्नु अहिलेको आवश्यकता हो । साभारः अग्रिम साप्ताहिक