राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : विभिन्न वडाहरू सेमिफाइनलमा

तुल बहादुर कवँर मगर
भालुबाङ, ३ बैशाख।
दाङको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा पुरुष तथा महिला दुबै तर्फका विभिन्न वडाहरूले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

राप्ती गाउँपालिका–२, लालमटिया स्थित टुडिखेल मैदानमा जारी प्रतियोगितामा पुरुषतर्फ वडा नं. २ ले वडा नं.८ लाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। त्यस्तै, वडा नं.५ ले वडा नं.७ लाई २–१ ले, वडा नं.३ ले वडा नं.६ लाई २–० ले तथा वडा नं.१ ले वडा नं.४ लाई २–० को नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका छन्।

महिला तर्फ, वडा नं. २ ले वडा नं. ३ लाई ३–० ले तथा वडा नं.१ ले वडा नं.८ लाई ८–० को एकतर्फी नतिजामा हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन्। वडा नं. ४ र वडा नं. ६ बीचको खेलमा वडा नं. ६ का खेलाडी अनुपस्थित रहेकाले वडा नं. ४ वाकओभरमार्फत अगाडि बढेको हो।


यस्तै, वडा नं.५ ले वडा नं.७ लाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। प्रतियोगिताको दुबै तर्फको सेमिफाइनल खेलहरू बिहीबार (बैशाख ४ गते) तथा फाइनल खेल शुक्रबार (बैशाख ५ गते) हुनेछन्।

प्रतियोगिताका विजेता टिमले नगद ४० हजार रुपैयाँ र उपविजेताले रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा नं. ३ का अध्यक्ष तथा खेल सञ्चालन समितिका संयोजक उमेश अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।