आज नागपञ्चमी पर्व मनाइँदै

दाङ, ४ भदौ ।  आज नाग पञ्चमी । घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी देशभर मनाइँदै छ । यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ। रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ। मानव जीवनलाई उत्साहित र उल्लासमय बनाइराख्न सनातन परम्परामा विभिन्न चाडपर्वको व्यवस्था गरिएको छ । श्रावण शुक्ल पञ्चमीदेखि संस्कृति र परम्परा अनुसारका चाडपर्वको सुरुवात भएको मानिन्छ । हिन्दू पञ्चाङ्गमा नागपञ्चमीलाई पर्वका रूपमा उल्लेख छ ।


परम्परा र संस्कृतिलाई प्रकृतिसँग जोडेर पर्वका रूपमा मनाउने उत्कृष्ट प्रचलनले सनातन पद्धतिलाई मानव जीवनोपयोगी बनाइरहेको छ । नागपञ्चमी र भगवान् शिवको अन्योन्याश्रित सम्बन्ध रहेको छ । यही कारण नाग पूजन साउनमा गरिन्छ । यस दिन नागको पूजा गरियो भने भगवान शिवजी प्रशन्न हुन्छन् भन्ने मान्यता छ । शुक्ल पक्षको पञ्चमीका दिन नागको पूजा गर्दा समस्त जीवनमा नागको दोष शमन हुने समेत वैदिक मान्यता छ । यस वर्ष नागपञ्चमी सोमबार नै पर्नुले अर्को उत्तम योग सिर्जना गरेको छ । सोमबार यसै पनि भगवान् शिवको बार अर्थात् चन्द्रमाको बार मानिन्छ । शिवजीको शिरमा रहेका चन्द्रमाको बारमा शिवजीको गलामा रहेका नागराजको पूजा गर्न पाउनु र पञ्चमी समेत जुर्नु अर्को सकारात्मक योग हो । नागलाई विषालु सर्पका रूपमा पनि लिइन्छ । यसको अर्थ सर्प मानव जीवनका लागि विषालु नभई प्रकृतिमा भएको विषालु पदार्थ आफूले ग्रहण गरी मानव लगायत जीवको रक्षा गर्नु पनि हो । प्रकृतिको सन्तुलनका लागि नागको महत्त्वपूर्ण भूमिका हुने हुनाले नाग पञ्चमीको दिनलाई विशेष पर्वका रूपमा मनाउनु सबैका लागि हितकर हुने उल्लेख गरिएको छ ।