बबई बोटिङ सञ्चालकलाई १५ दिनमा कारणसहित उपस्थित हुन उच्च अदालतको आदेश

दाङ, ३ बैशाख ।
उच्च अदालत तुलसीपुर दाङले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मोतीपुरमा रहेको बबई नदीमा हुँदै आएको मोटरबोट सञ्चालकसहित उपमहानगरपालिकालाई १५ दिनमा कारण पेश गर्न आदेश गरेको छ ।

बबई नदीमा चैतको अन्तिम हप्तादेखि शुरू भएको मोटर बोटिङ रोक्न स्थानीय प्रशासनले लिखित आदेश जारी गरेकै दिन अदालतले कारणसहित उपस्थित हुन भनेको हो । तुलसीपुर–११ का युवा रोहित न्यौपानेले अनधिकृत रूपमा बबईमा अस्थायी प्रकृतिको बाँध बाँधेर सम्बन्धित ठाउँबाट कुनै अनुमति नलिई मोटरबोट सञ्चालन गर्दै आएको हुँदा त्यो रोकिनुपर्ने माग गर्नुभएको थियो ।


दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पनि मंगलबार लिखित आदेश जारी गर्दै मोटरबोट सञ्चालन रोक्न आदेश दिनुभएको थियो ।