कार्यालय जलेपछि तुलसीपुर र घोराहीले गरेनन् अरबौं रकमको‘अडिट’

दीपक बोहरा
तुलसीपुर, २४ असार । दाङको तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकामा जेनजी आन्दोलनले आगलागी भएपछि अरवौं रकम लेखा परीक्षण भएको छैन । तुलसीपुरले ४ अर्ब ३७ करोड ८ लाख र घोराहीले ८ करोड ८१ लाख बराबरको कारोबारको लेखापरीक्षण गराउन अस्वीकार गरेका हुन् ।

आर्थिक बर्ष २०८२/०८३ मा दुबै उपमहानगरपालिकाले यसरी लेखा परीक्षण गराएका होईनन् ।

यद्यपी सोही ४ अर्ब ३७ करोड लेखा परीक्षण नहुँदा पनि तुलसीपुर उपमहानगरपालिकाको अहिलेसम्मको बेरुजु ९३ करोड १९ लाख पुगेको छ । अनलाईन प्रणालीमा खर्च भएको रेकर्ड देखिएपनि कागजपत्र जल्दा त्यसको लेखा परीक्षण गर्न नसकिने तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत प्रदिप कुमार वलीले बताए । जसमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ ले समेत कागजात बुझाउन नसकिने भनेको छ ।


तुलसीपुर उपमहानगरपालिकाको कार्यालय र वडा नं.१८ को अडिट भएको छैन । त्यो बाहेक सबै वडाको अडिट भएको छ । तुलसीपुर उपमहानगरपालिकाको २४ करोड ९७ लाख मात्रै अडिट भएको छ । त्यही रकममा पनि १ करोड १७ लाख बेरुजु देखिएको छ । उपमहानगरपालिका मध्ये सबै भन्दा बढि बेरुजु हुने पालिका तुलसीपुर बनेको छ । जसको ४.७१ प्रतिशत बेरुजु रहेको छ ।

त्यस्तै घोराहीको ५ अर्ब २२ करोडको अडिट हुँदा ११ करोड २३ लाख बेरुजु भएको छ ।