पिउने पानीमा लापरवाही

दाङको तुलसीपुरबाट उत्पादन हुने कुबेर जलमा हालै एक गम्भीर समस्या देखियो । फिल्टरको कार्टेजमा समस्या आएपछि बोतलमा सेतो पदार्थ देखा परेको थियो । त्यही पानी बजारमा वितरण गरियो । करिब एक हप्तासम्म त्यस्तो पानी उत्पादन भयो र त्यही पानी बजारमा गयो । बजारमा गएको त्यही पानी धेरैले प्रयोग पनि गरे । किनकी बजारमा गएको मध्ये सबै फोहर पानी कुबेर जलले अझै पनि आफ्नो नियन्त्रणमा ल्याउन सकेको छैन । त्यो समयमा उत्पादन गरेको पानी अहिले पनि बजारमा छ ।

यो घटनाले हामीले पिइरहेको पानी कति शुद्ध छ, भन्ने कुरालाई पनि पुष्टि गर्छ । अहिले जिल्लामा करिब १२ वटा पानी उद्योगहरु सञ्चालनमा छन् । ति उद्योगको काम पानी प्रशोधन गर्ने मात्रै हो । अहिले मिनरल वाटर भनेर जसरी प्रचार गरिन्छ, त्यो होईन्, जति पनि पानी उद्योग छन्, ति उद्योगले पानी प्रशोधन गर्ने र प्याकेजिङ गरेर बजार पठाउने काम मात्रै हा । तर, प्रशोधन गरेको पानी पनि कति शुद्ध छ, भन्ने कुरा स्वयं उद्योग व्यवसायीलाई नै थाहा हुँदैन । किनकी ति उद्योगहरुमा प्रयोगशाला छैन । प्रयोगशाला विना कस्तो पानी बजारमा गएको छ, उत्पादित पानी पिउन योग्य छ वा छैन, भन्ने कुरा प्रष्ट हुँदैन । त्यसले गर्दा पनि पिउने पानीमा पटक–पटक यस्ता समस्या दोहोरिरहन्छन् ।


खानेपानी जस्तो सम्वेदनशील क्षेत्रमा पटक–पटक यस्ता थुप्रै लापरवाही हुने गरेको छन् । नियमन निकायले यस्ता उद्योगहरुलाई व्यवस्थित गर्न सकेको छैन् । यसरी प्रयोगशालामा परीक्षण नगरेर पानी बजारमा पठाउँदा त्यसले मानविय स्वास्थ्यमा गम्भीर असर पार्न पनि सक्छ । त्यसैले सबै उद्योगहरुले मानविय स्वास्थ्यका विषयमा लापरवाही गर्नुहुँदैन । पटक–पटक पानीमा देखिने समस्याले सुरक्षा र गुणस्तरको विषयमा थप ध्यान दिनुपर्ने आवश्यकता दर्शाउँछ। बजारमा वितरण हुने पानीको गुणस्तर र सफाइमा कडा निगरानी राख्नु अत्यन्त महत्वपूर्ण छ, ताकि उपभोक्तालाई कुनै पनि प्रकारको स्वास्थ्य जोखिम नहोस् । साभारः अग्रिम साप्ताहिक