टरिगाउँ विमानस्थल ओझेलमा पर्न सक्ने खतरा

दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा यात्रुको न्यूनता र सेवा समस्याले एउटा गम्भीर सवाल उठाएको छ – की हाम्रो विमानस्थल नियमित हुन सक्दैन ? हालको अवस्थामा, टरिगाउँ विमानस्थलको धावनमार्ग छोटो हुनु र यात्रुहरूको अभावले यस विमानस्थलमा नियमित जहाज बस्न सकेको छैन । जहाज आएपनि एक जना पनि यात्रु नहुँदा अहिले उडान नै रद्द गर्नुपर्ने अवस्था छ । कहिल्यै जहाज आएन भनेर आलोचना गर्ने र जहाज आएपछि टिकेट नकाट्ने प्रवृति हावी भयो । यसले गर्दा टरिगाउँ विमानस्थल ओझेलमा पर्न सक्ने खतरा बढेको छ ।

अहिले आउने १९ सिटे जहाज नियमित नहुँदा नै यसरी विश्वासमा गिरावट आएको हो । तुलसीपुरमा एउटा जहाज भन्दा विकल्प छैन । यदि त्यही जहाज आएन भने अर्को समस्या हुन्छ । विगतमा यस्ता समस्या देखिदा नै अहिले त्यसको प्रभाव परेको हो । विरामी वा अफ्ठेरो अवस्थामा बढि मात्रामा हवाई मार्ग प्रयोग गर्ने गरिन्छ । तर, भनेको दिनमा जहाज आएन भने त्यसले निकै अफ्ठेरो बनाउँछ । त्यसैले पनि यात्रुहरु प्रायः नेपालगजञ्ज वा भैरजहवा जानुपर्ने बाध्यता सिर्जना भयो । अर्को तर्फ सानो जहाज हँुदा अलिकति ठूलो हावा चल्न थालेपनि जहाज अवतरण  गर्न सक्दैन । त्यस्तो अवस्थामा यात्रु मारमा पर्छन् । यस्तै कुराहरुले पनि टरिगाउँ विमानस्थलले यात्रुहरुको मन जित्न सकेको छैन । यद्यपी यसलाई नियमित बनाउने जिम्मेवारी भने यस क्षेत्रकै यात्रुहरुको हो । आफ्नै ठाउँमा आएको विमानलाई विश्वास गरौं र ढुक्क भएर उपयोग गरौं ।


२०११ सालमा स्थापना भएको विमानस्थलको धावनमार्गको लम्बाइ ७५० मिटर मात्र छ, जसको कारण ठूला विमानहरू यहाँ अवतरण गर्न असम्भव छ । त्यसले गर्दा साना विमान आउने र त्यो पनि अनिश्चित हुने अवस्था छ । यसलाई विस्तार गर्नकालागि ठूलो राजनीतिक चलखेल भइरहेको छ । बजेटका नाममा दुई करोड, ३ करोड जस्तो आउछ । त्यसले झाडी फाल्न पनि पुग्दैन । बजेट छुट्याए जस्तो गर्ने तर, त्यसले कुनै काम नगर्ने अवस्था छ । यस्तो अवस्था नियमित भइरहेमा यो विमानस्थल ओझेलमा पर्न सक्छ, यसको दोष यस क्षेत्रका राजनीतिक नेतृत्वलाई दिदा कुनै अन्याय हुँदैन । साभारः अग्रिम साप्ताहिक