सडकको सीमा मापदण्डबारे कांग्रेस नेता गिरीलाई ध्यानाकर्षणपत्र

दाङ, २६ चैत्र।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले राप्ती राजमार्गको मापदण्डबारेको अन्यौलता छिट्टै हट्नुपर्ने बताउनु भएको छ। सरकारको उदासीनताका कारण लामो समयसम्म जनताको सम्पत्तिको मूल्यांकन नहुने र बजार विस्तार हुन नसकेको कारण यो अवस्था आएको बताउनुभयो।

राप्ती राजमार्गअन्तर्गत पर्ने तुलसीपुरको एयरपोर्टदेखि विरेन्द्रचोकसम्मको सडकको सीमा मापदण्डबारे राप्ती राजमार्ग, तुलसीपुर क्षेत्र सरोकार मञ्चले मंगलबार बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै नेता गिरीले सडकको मापदण्डबारेको अन्यौलता हटाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो।

ध्यानाकर्षणपत्रमा सडकको मापदण्ड तत्कालीन समयमा तुलसीपुर नगर विकास समितिले तोकेको हुनुपर्ने, सहरी क्षेत्र विस्तारको क्रममा वडा नम्बर ६ सिमानादेखि टरिगाउँ विमानस्थलसम्म सडक केन्द्रबिन्दुको दायाँबायाँ कायम गरिएको १५र१५ मिटर सीमालाई मान्यता दिनुपर्ने लगायतका माग समितिका सदस्य–सचिव चेतन रेग्मीले जानकारी दिनुभयो।


सो अवसरमा मञ्चका अध्यक्ष नवराज लामिछानेले सडकको मापदण्डबारे अन्यौलता हुँदा दुर्घटनाको जोखिम बढेको, घर नक्सापास रोकिएको, घरजग्गा बिक्री–वितरणमा समस्या हुने गरेको लगायतका समस्या रहेको बताउनुभयो।

मापदण्डअनुसारको सडकमा स्तरोन्नति समयानुकूल हुनुपर्ने, कालोपत्रेको दायाँबायाँ नाला निर्माण हुनुपर्ने, १५ मिटर भित्रका खाल्डाहरू पुर्नुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ।

ध्यानाकर्षणपत्रमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ र ६ का ७ वटा टोल विकास संस्थाका २९४ जनाले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।