
दंगीशरण, २६ चैत्र ।
दंगीशरण गाउँपालिकाको कृषि विकास रणनीति तथा योजना तर्जुमा सम्बन्धि २ दिने कार्यसाला गोष्ठीको समापन गर्दै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले कृषिलाई आधुनिकीकरण गरी कृषि तथा पशुपंक्षीमा किसानलाई आत्मनिर्भर बनाउनु आजको प्रमुख आवश्यकता रहेको बताएका छन् ।
समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिका कृषिमा आधारीत गाउँपालिका रहेकाले पनि आफुहरु गाउँपालिकाको समग्र पञ्चवर्षिय कृषि रणनीतिक योजना निर्माणमा अगाडि बढेको बताए । जतिसक्दो यहाँका किसानहरुलाई अनुदानमा बिउ बिजन तथा यन्त्रीकरणका सामाग्री वितरणदेखि सर्बसुलभ परामर्श सेवाका लागि प्राविधिक सेवा वडास्तरबाटै दिदै आएको बताउदै अध्यक्ष गिरीले दंगीशरणका सम्पुर्ण किसानहरुको हितका लागि चासोदिदै पालिकाले किसानमुखि कार्यक्रमहरु अगाडि बढाएको बताए ।
समापन अवसरमा बोल्दै दंगीशरण गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष एवम गाउँपालिकाका प्रबक्ता रमेश भण्डारीले दंगीशरण गाउँपालिका किसानहरुको भुमि रहेकाले पनि आफुहरुले कृषिलाई आधुनिकिकरणका साथ लाग्न आवश्यक रहेको बताए ।
सोहि अवसरमा वडा नं. ३ का वडा अध्यक्ष एवम आर्थिक विकास समितीका संयोजक शुकलाल चौधरीले किसानहरुको उत्थान तथा आर्थिक रुपमा टेवा पुर्याउनका लागि पञ्चवर्षीय रणनीतिक योजनाले टेवा पुग्ने अपेक्षा लिएका छन् ।
२ दिने पञ्चवर्षिय कृषि रणनीतिक योजना निर्माण तथा सहजीकरणका लागि कृषि मन्त्रालयका पुर्व सचिव राजेन्द्र कुमार भारी र परामर्शदाता सुभाष ढकालको उपस्थिति रहेको थियो । कार्यक्रममा पालिकाभित्रका कृषि संजाल, कृषक, साखा प्रमुख तथा विभिन्न सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले गाउँपालिकाभित्रका कृषि र पशुपंक्षीमा आस्रित किसानहरुलाई छिटो छरीतो र सर्वसुलभ तवरले सेवा प्रदान तथा माटो सुहाउँदो बालिनालि उत्पादनमा जोड दिन पञ्चवर्षिय कृषि रणनीतिक योजना तथा कार्यसाला गोष्ठीले महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा लिएका छन् ।
दंगीशरण गाउँपालिका हेफर प्रोजेक्ट नेपाल र नेपाल महिला सामुदायिक सेवाकेन्द्र दाङको सयुक्त साझेदारीमा संचालित कृषि पशु विकासमा आधारित सानाकिसान तथा युवा उद्यमसिलता विकास साझेदारी परीयोजना अन्तर्गत दंगीशरण गाउँपालिकाको कृषि विकास रणनीति तथा योजना तर्जुमा सम्बन्धि २ दिने कार्यसाला गोष्ठी दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा २ दिनसम्म चलेको कार्यशाला गोष्ठीको सहजीकरण भिटा परीयोजनाकी दंगीशरण संयोजक गोमा भट्टराईले गरेकी थिइन ।



लाइभदाङ । २६ चैत्र २०८१, मंगलवार १९:२५ बजे