
दाङ,१३ चैत
आज कोशीदेखि गण्डकीका पहाडी र हिमाली क्षेत्रका धेरै ठाउँमा वर्षा हुने, भोलि पूर्वी नेपालकेन्द्रित वर्षा हुने
पश्चिमी, न्यूनचापीय र स्थानीय वायु सक्रिय हुँदा बिहीबारबाट वर्षाका गतिविधि बढेका छन् । शुक्रबार र शनिबार हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकीका पहाडी भेग तथा हिमाली भूभागका धेरै स्थानमा शुक्रबार पानी पर्ने आकलन गरिएको छ । त्यस्तै, बाँकी प्रदेशका पहाडी र हिमाली भू–भागका केही स्थान तथा तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेले पहाडी र हिमाली क्षेत्रभन्दा तराईमा कम पानी पर्ने बताए । ‘शुक्रबार दिउँसोसम्म पश्चिमी पहाड र साँझबाट मध्य तथा पूर्वी पहाडकेन्द्रित वर्षा हुने देखिन्छ,’ उनले भने, ‘शनिबार भने मध्य र पूर्वी नेपालमा वर्षा हुने देखिएको छ ।’ यद्यपि, गत साताजस्तो अत्यधिक वर्षाको सम्भावना भने नरहेको उनले बताए ।
शुक्रबार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । शनिबार कोशी, मधेश, बागमतीका केही स्थान तथा बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा वर्षाको आकलन छ ।
मौसमविद् लामिछानेका अनुसार वर्षा गराउने प्रणाली शनिबार साँझबाट कमजोर हुनेछ भने आइतबारबाट मौसममा सुधार आउनेछ ।



लाइभदाङ । १३ चैत्र २०८२, शुक्रबार १०:१२ बजे