
तुलसीपुर, २२ चैत । दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाईएको छ । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाईएको हो ।
प्रयोगशाला नभएपछि तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन समेत गरिएको डिभिजनका सूचना अधिकारी विबेक कुमार सुवेदीले बताए । “हामीले दाङका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगमा अनुगमन ग¥यौं”,उनले भने “ति उद्योगहरुमा प्रयोगशाला नभएपछि तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाणसहित कार्यालयमा जानकारी दिन भनेका छौं ।”
उनका अनुसार प्रयोगशाला नहुँदा उपभोक्तामा कस्तो पानी गएको छ, भन्ने कुरा थाहा हुँदैन । जसले गर्दा बेला–बेलामा उपभोक्तामा असुद्ध पानी समेत जाने गरेको भन्दै यसलाई तत्काल सञ्चालनमा ल्याउन भनेको सूचना अधिकारी सुवेदीले बताए ।
प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धि निर्देशिका २०७४ अनुसार प्रयोगशालाको ब्यबस्था गर्नुपर्ने उल्लेख गरेको छ । यदि प्रयोगशाला नराखेको सन्दर्भमा प्रत्येक महिनामा एक पटक प्रशोधित तथा अप्रशोधित पानीको भौतिक तथा रसायनिक विश्लेषण मान्यता प्राप्त प्रयोगशालाबाट गराउनु पर्ने कुरा उल्लेख छ ।



तर, यो कुरामा पानी उद्योगले ख्याल नगरेको उनको भनाई छ । उद्योगहरुले ‘आरो मेसिन’बाट पानी प्रशोधन गरेर सिधै बजार पठाउने गरेका छन् । तर, मेसिनमा केही समस्या आएमा त्यो पानी सुद्ध छ की छैन, भनेर प्रयोगशालामा मात्रै परीक्षण गरेर बजार पठाउनु पर्ने भएपनि त्यसो हुन सकेको छैन ।
जिल्लामा हाल १२ वटा पानी उद्योगहरु सञ्चालनमा छन् । ति मध्ये उपभोक्तामा दुषित पानी गएपछि तुलसीपुर ९ स्थित भद्रकाली ड्रिङ्किङ वाटर(कुबेर जल)ले भने प्रयोगशाला सञ्चालनमा ल्याएको सूचना अधिकारी सुवेदीले बताए ।
अन्यले भने अझै पनि सञ्चालनमा ल्याएका छैनन् । ति सबै उद्योगलाई प्रयोगशालाको ब्यबस्था गर्न लिखित निर्देशन गरिएको उनको भनाई छ । जिल्लामा २० वटा पानी उद्योग दर्ता भएपनि सञ्चालनमा भने १२ वटा मात्रै छन् । रासस
लाइभदाङ । २२ चैत्र २०८१, शुक्रबार ०८:५१ बजे