बबईमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता

तुलसीपुर, ५ कात्तिक ।
दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुवेर बेपत्ता भएका छन् । शनिबार दिउँसो पौने २ बजेतिरको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ र दंगीशरण गाउँपालिका वडा नं. २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुवेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा दंगीशरण गाउँपालिका वडा नं. २ सिमलबुना निवासी अन्दाजी १५/१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १४/१५ वर्षीया गोमा चन्द रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।


बेपत्ता भएका किशोरीहरुसंगै नुहाउन गएकी सोही ठाउँकी १३ वर्षीया निरुता बस्नेतले जानकारी गराएपछि उनीहरुको खोजीकार्य भईरहेको प्रहरी निरिक्षक केसीले बताए । केसीका अनुसार अहिले प्रहरी चौकी जस्पुर, प्रहरी चौकी गोल्टाकुरी, ईलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीयहरुको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।