
तुलसीपुर, १४ चैत । गोरखा ग्रुप द्वारा सञ्चालित तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित गोरखा सेकेन्डरी स्कुल तुलसीपुरले नेपाल नेत्रज्योति संघ अन्तर्गत राप्ती आँखा अस्पताल रक्षाचौरलाई प्रतिक्षालय हस्तान्तरण गरेको छ ।
बुधबार एक कार्यक्रमकाबीच प्रतिक्षालय हस्तान्तरण गरेको हो । विरामीहरुलाई सहजताकालागि ५० जना क्षमताको प्रतिक्षालय निर्माण गरिएको ग्रुपका शैक्षणिक निर्देशक दुर्गा केसीले बताए । उनका अनुसार २०८१ असार ०१ गते निर्माण पूरा भइ प्रतिक्षालय सञ्चालनमा आइसकेको छ ।
नौ सय स्क्वायर फिट रहेको उक्त प्रतिक्षालयको लागत ४ लाख ७१ हजार रहेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्य गरेको उनले बताए । यसले आँखा उपचारकालागि आउने विरामीहरुलाई सहज बनाउने उनको विश्वास छ । “हामीले यस्ता बिभिन्न सामाजिक क्षेत्रमा लगानी गर्दै आएका छौं”,उनले भने“ अस्पताल सेवा क्षेत्र झनै सम्वेदनशील क्षेत्र हो । त्यसमा पनि आँखा भनेको झनै सम्वेदशील भएकाले हामीले बिशेष चासो दिएर यहाँ प्रतिक्षालय निर्माण गरेका हौं ।”
विद्यालय ब्यबस्थापन समिति अध्यक्ष विष्णु प्रसाद घर्ती, शैक्षणिक निर्देशक केसी,प्रिन्सिपल विजयमान जीएमसहितको टोलीले प्रतिक्षालय हस्तान्तरण गरेको हो । त्यस अवसरमा आँखा अस्पतालले गोरखालाई सम्मान पनि गरेको थियो ।



लाइभदाङ । १४ चैत्र २०८१, बिहीबार ०७:०० बजे