सम्पर्कविहीन सांसद विमला वली भोली सार्वजनिक हुने

दाङ, २० साउन ।
गएको शुक्रबारदेखि सम्पर्क विहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री(वली) ले विहीबार(भोली) पत्रकार सम्मेलन गरि सार्वजनिक हुने बताएकी छिन् । उनी निकट स्रोतका अनुसार वली माओवादी केन्द्रमै रहेको र भोली पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी रहेको छ ।

दाङ क्षेत्र नं. ३ को ‘ख’ बाट निर्वाचित वली गएको साउन १५ गते तुलसीपुरबाट सम्पर्क विहीन थिईन् । सम्पर्क भन्दा बाहिर रहेपछि उनलाई पार्टीले खोजी कार्य जारी राखेको थियो । एमालेका लुम्बिनी प्रदेशसभाका सचेतक भुमेश्वर ढकाल र नेता मानबहादुर रावतले तुलसीपुरबाट लगेका थिए । ढकालको गाडीमा उनलाई नेपालगञ्ज लैजान भनि यहाँबाट हिडाएको भएपनि सिधै मुख्यमन्त्री कार्यालयमा लगिएको भनि आफूहरुसंग भनेको माओवादी केन्द्रका एक प्रदेश सांसदले बताए ।“उहाँ माओवादी केन्द्रको संसदीय दलमा आज विहान सम्पर्कमा आउनु भयो”, ति सांसदले भने “ नेपालगञ्ज जाने भनि लगेको सिधै मुख्यमन्त्री कार्यालय लगिएको भनि हामीसंग भन्नुभयो ।”


वलीको मोवाईलको लोकेशन पनि १५ गतेदेखि नै मुख्यमन्त्री कार्यालय वरिपरि देखाएका भन्दै अपहरणको शैलीमा लगिएको प्रदेश सांसद दामाकुमारी शर्माले बताईन् ।“ हामीले उनी पार्टीको सम्पर्कमा नआएपछि मोवाईले लोकेशन हेरेका थियौं”, उनले भनिन्“ १५ गतेदेखि नै मुख्यमन्त्री कार्यालयमा रहेको लोकेशन देखाएको थियो ।” वलीलाई अपहरणको शैलीमा लगिएको उनको भनाई छ ।

उनको नाममा सोमबार मात्रै विज्ञप्ति जारी गरि एमालेमा प्रवेश गरेको खबर बाहिर ल्याईएको थियो । २०७६ मंसिरमा भएको निर्वाचनमा उनलाई तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट उम्मेदवार बनाएर जिताईएको थियो । त्यसपछि अदालतले दुई पार्टी एकता भन्दा पहिलेकै अबस्थामा पुगेको भनि फैसला गरेपछि उनले गएको बैशाख १९ गते बुटवलमा पत्रकार सम्मेलन गरि माओवादी केन्द्र रोजेकी थिईन् । उनका श्रीमान उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन पछि सोही स्थानमा विमलालाई उम्मेदवार बनाईएको हो । लुम्बिनीमा नयाँ प्रदेश प्रमुख आएपछि सरकार परिबर्तनको चर्चा चलिरहेको छ । मंगलबार मात्रै विपक्ष गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविस्वासको प्रस्ताब दर्ता गरेको छ ।