तुलसीपुरका यग्गे बुढालाई पाँच महिना जेल सजाय

तुलसीपुर
५ पुस / जिल्ला अदालत सुर्खेतले बलात्कार पीडित राउटे समुदायका युवतीको पहिचानसहित अनलाइनमा समाचार र फेसबुकमा स्टाटस लेखेको भन्दै तुलसीपुर ३ निवासी यग्गेबहादुर बुढालाई पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बलात्कार पीडित युवतीको फोटो र नामसहित समाचार प्रकाशित गरेको र प्रतिवादी वकीलहरुका विरुद्ध अनर्गल प्रचार गरेको प्रमाणित भएपछि उनलाई उक्त फैसला सुनाएको हो ।

‘संवेदनशील विषयहरुमा समाचारलगायतका सामग्रीहरु प्रस्तुत गर्दा पीडितको सुरक्षा र पहिचानको विषयमा गम्भीर हुनुपर्नेमा सो नगरेको देखिन आयो, करणीजन्य अपराधका सामग्रीहरु गोप्य हुन्छन् भन्ने विषय प्रत्येक सचेत नागरिकलाई थाहा हुनैपर्ने विषय हो,’ न्यायाधीश डा. आचार्यको फैसलामा भनिएको छ, ‘सामाजिक क्षेत्रमा समाचार सम्प्रेषण गर्नेहरुले परिणामको गाम्भीर्यतालाई समेत मध्यनजर गर्नुपर्ने हुन्छ, सो विषयमा गम्भीर नभई पीडितहरुको पहिचान खुलाएको अवस्था हुँदा यो कानुनी कारवाहीको विषय हुन आयो ।’

पीडकहरुको तर्फबाट बहस गरेका वकीलहरु मोतीराम शर्मा, रामबहादुर भण्डारी र खेमराज जैसी तिवासीलाई बुढामगरले फेसबुक स्टाटसमार्फत ‘बलात्कारी’हरुबाट मोटो रकम लिएर बहस पैरवी गरेको आरोप लगाएका थिए। ‘अदालतभित्र राउटे युवतीहरुलाई बलात्कार गर्ने राक्षसहरुबाट मोटो रकम लिए ति राक्षसहरुको पक्षमा बहस पैरवी गर्न पुगेका तीन जना कालोकोट लगाउने प्रमाणपत्र धारीहरुबाट तीन घण्टा टर्चर भयो,’ उनले फेसबुक स्टाटसमा लेखेका थिए, ‘निजहरुको जिरहलाई निरह पार्ने गरी सवालको जवाफ दिएको छु ।’

पीडकका तर्फबाट वकालत गर्ने वकीलहरुले बलात्कार पीडित राउटे युवतीको फोटो र नामसहित अनलाइनमा समाचार लेखेको तथा आफूहरुविरुद्ध फेसबुकमा स्टाटस लेखेको भन्दै असोज १९ गते अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए।


सुर्खेत जिल्ला अदालतका सूचना अधिकारी नरेन्द्रप्रसाद पोख्रेलका अनुसार बुढामगरलाई प्रहरीले सोमबार अदालतमा उपस्थित गराएको थियो। ‘बलात्कार पीडित राउटे युवतीको पहिचान खुल्ने गरेर समाचार प्रकाशित गरेको र प्रतिवादीकातर्फबाट वकालत गरिरहेका वकीलहरुका विरुद्ध फेसबुकमार्फत अनर्गल प्रचार गरेको प्रमाणका आधारमा न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले कैद फैसला सुनाएको हो । फैसलाको २४ घण्टाभित्र शर्तसहित माफी मागेको खण्डमा कैदमा भने बस्नु नपर्ने उनले बताए ।

सूचना अधिकारी पोख्रेलका अनुसार बुढामगरले जुनजुन सामाजिक सञ्जाल प्रयोग गरी कसुर गरेका हुन्, तिनै सामाजिक सञ्जालमा क्षमायचना प्रकाशित गर्नुपर्ने, प्रकाशित सामग्री छ महिनासम्म सामाजिक सञ्जालमा रहनुपर्ने, प्राइभेट गर्न नपाइने, २४ घण्टाभित्र माफी मागेर त्यसको स्क्रिनसट सात दिनभित्र अदालतमा पेश नभएमा स्वतः कैद सजाय क्रियाशील हुन्छ। बुढामगर दुई दिन प्रहरी हिरासतमा बसिसकेका छन् । बुढाले तुलसीपुरमा रहेर राप्ती पहिचान डटकम नामक अनलाईन सञ्चालन गर्दै आएका छन् ।

गुर्भाकोट नगरपालिका–९, आँपसोतीमा रहेका बेला जेठ २१ गते राउटे समुदायका दुई युवतीलाई सामान किन्न आएको बेला होटलमा जबजस्ती मदिरा सेवन गराएर स्थानीय चमन घर्ती(जोगी), भुपेन्द्र बुढार विनोद पुनलले बलात्कार गरेको भिडियो सार्वजनिक भएको थियो।

जेठ २८ गते जिल्ला न्यायाधीश आचार्यले राउटे समुदायका युवतीमाथि भएको बलात्कार घटनाका विषयमा सामाजिक सञ्जाल र समाचार माध्यममा प्रकाशितरप्रशारित सामग्रीहरु तत्काल हटाउन आदेश जारी गरेका थिए। अदालतले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिका फोटो तथा भिडियोहरु हटाउन, यस्ता सामग्रीहरु राख्नेलाई कारबाही गर्न तथा आवश्यकता अनुसार साइटहरु बन्द गराउन पनि आदेश दिएको थियो।

‘नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय कार्यालयलाई राउटे युवतीका बारेमा प्रकाशितरप्रशारित सामग्रीहरु हटाउन ध्यानाकर्षण गराउनु,’ न्यायाधीश आचार्यको आदेशमा भनिएको थियो, ‘जिल्लास्थित पत्रकारहरुको संगठनमार्फत यस्ता सामग्रीहरु प्रचार–प्रसार नगर्नरनगराउन ध्यानाकर्षण गराउनू।’ आदेशमा युट्युवलगायतका सामाजिक सञ्जालमा राखिएका राउटे समुदायका पीडित युवतीहरुका सामग्रीहरु हटाउन संघीय सरकारमार्फत विज्ञप्ति जारी गर्न र जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत आवश्यक कारबाही अघि बढाउन भनिएको थियो । स्रोत : नागरिक