चन्द्रविरले गोरेटो खने, अहिले सडक बन्यो

दीपक बोहरा
दाङ, १५ फाल्गुन ।
श्रीमति पनि दृष्टिविहीन र छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्न निकै कठीन भयो । राप्ती लोकमार्ग नजिकै भएपनि त्यही लोकमार्गसम्म पुग्ने वाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका वडा नं.३ साततलेका चन्द्रविर वलीले बुढेसकालमा २ वर्ष लगाएर बाटो खने । न त कसैले त्यो बाटो खन्न सहयोग गरे, न त कसैले चासो नै दियो । एक्लै २ वर्ष लगाएर २ किलोमिटर बाटो खनेका चन्द्रविरलाई अहिले भने निकै सहज बनाएको छ । चन्द्रविरले गोरेटो बाटो खनेपछि त्यहाँ तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ ।

२०७३ सालमा वलीले २ वर्ष लगाएर बनाएको गोरेटोबाटो सडकमा परिणत भएको हो । अहिले गाडी त्यहीबाटो चल्छन्, अटोहरु, मोटरसाइकलहरु त्यहीबाटो चल्छन् । त्यहाँबाट खमारी जान त्यही छोटोबाटो प्रयोग गर्ने गरिएको छ । चन्द्रबिरले दृष्टिविहीन श्रीमति र चार छोराकालागि बाटो खनेका हुन् । “श्रीमति पनि आँखा नदेख्ने, छोराहरुपनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन”,उनले भने “श्रीमति र छोरा लड्लान भनेर त्यो बाटो खनेको हुँ, अहिले यही बाटोमा गाडी चल्ने भए ।”

उनका ५ छोरा र एक छोरी थिए । एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो । अहिले भएका चार छोरा मध्ये कान्छो छोराले मात्रै आँखा देख्छन्, अन्य तीन छोराले आँखा देख्दैनन् । छोराछोरीकालागि खनेको त्यो बाटोबाट अहिले त्यो गाउँमा मानिसहरू आवतजावत गर्न समेत सजिलो भएको छ ।  उनले भिरपाखामा दुई किलोमिटर बाटो कोदालो,गैती, बन्चरोलगायतको सहायताले खनेका हुन् ।

सहयोगले चलेको दैनिकी
अहिले उनका जेठो छोरा काठमाडौंमा दोहोरी सांँझमा काम गर्छन्, भने माइलो छोराले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन् । कान्छो छोरा पनि काठमाडौंमै छन् । उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन् । चन्द्रविरकालागि भने अहिले घरमा सहयोग पुग्ने गर्छ । त्यही सहयोगबाट उनको  दैनिकी चलेको छ । “कहिल्यै मास्टर आउनुहुन्छ, कहिल्यै इन्जिनियर आउनु हुन्छ”,उनले भने “यसरी नै आउने सबैले चामल, दाल ल्याईदिनुहुन्छ, हाम्रो जिवन यसरी नै चलेको छ ।”

नेपालमै आएर विहे गरेका चन्द्रविर
चन्द्रविर २५ वर्ष भारत बसे । भारत बसेर ज्याला मजदुरी गरेर उनले जीवन निर्वाह गरिरहेका छन् । त्यहाँ बस्दा पनि साहूले विहे गर्न भनिरहेका थिए । तर, उनले भारतकी केटी विहे गर्न मानेनन् । “भारतकी केटी त अन्त पोइल(विहे गरेर) जान्छन्, भनेर विहे गरिन्”,उनले भने “त्यसपछि नेपाल आएरै विहे गरेँ ।”  नेपाल आउँदा उनी बुढो भइसकेका थिए । बुढेसकालमा एकजना दृष्टिविहीन महिलासंग उनले विहे गरे । श्रीमति दृष्टिविहीन विहे गरेपनि सन्तानमा त्यस्तो नहोला, भन्ने उनमा विश्वास थियो । तर, त्यसो भएन, छोराछोरी पनि दृष्टिविहीन नै जन्मेपछि उनलाई झन जिम्मेवारी थपियो ।


बेसार बेचेर घर
उनी नेपाल आएपछि अहिले बसिरहेका ठाउँमा दिदी भिनाजुसंग बस्थे । त्यही घरमा चन्द्रविर पनि बसे । भारतबाट आएपछि उनका बसाई पनि दिदी भिनाजुसंगै भयो । दिदी भिजानुसंग केही समयपछि त्यहाँकै जग्गा चन्द्रविरले किने । “मैले भारतबाट २०४२ सालमा दाङ आएँ, त्यतिबेला मैले ५५ हजार रुपैयाँ नेपाली ल्याएँ”,उनले भने“त्यो मध्ये ३५ हजार रुपैयाँमा दिदी भिनाजुकै घरजग्गा किनेँर बसेँ।”

चन्द्रविरको पहिले झुप्रो थियो । तर, उनले किनेको जग्गा खेतियोग्य थियो । त्यतिबेला उनले बेसार लगाए । ८० पाथी बेसार भएपछि त्यो बेसारलाई बेचे । जतिबेला १० रुपैयाँ पाथी बेसार थियो । बेसार बेचेर ८ सय रुपैयाँ भएपछि त्यही रुपैयाँले उनले आफू बस्ने घर हालेको बताए । अहिले उनलाई दाताहरुले अर्को घर बनाईदिएका छन् ।

चन्द्रविर मार्ग नामाकरण गर्नुपर्नेमा सांसदहरुको जोड
सोही मार्गलाई चन्द्रविर मार्ग नामकरण गर्नुपर्ने लुम्बिनी प्रदेशसभा सदस्य कृष्ण केसीको भनाई छ । उनले ठूलो मेहनतले यो काम गरेकोे र बुढेसकालमा पनि निकै चुनौतिकासाथ काम गरेकाले त्यो मार्गको नाम नै चन्द्रविर मार्गका रुपमा नामकरण गर्नुपर्ने बताए । “बुढेसकालमा यस्तो काम गर्न सानो चुनौति थिएन, आफ्ना सन्तानकालागि यसरी मेहनत गर्ने कुरालाई सबैले प्रोत्साहन गर्नुपर्छ”,उनले भने “त्यसकालागि यो मार्गलाई चन्द्रविर मार्ग नामकरण गर्नुपर्छ ।” राज्यले यस्ता ब्यक्तिलाई सम्मान गर्नुपर्ने प्रदेशसभा सदस्य निमा गिरीले बताए । यो सडक स्तरबृद्धिकालागि प्रदेश सरकारमा पहल थाल्ने पनि उनले बताए । साभारः अग्रिम साप्ताहिक