
प्रिया स्मृती गजमेर
देउखुरी,२४ वैशाख ।
लमही नगरपालिका द्वारा आयोजित दुई दिने किशोरी आत्मरक्षा तालिमको उद्घाटन गर्दै कार्यबाहक नगर प्रमुख उमेश कुमार खड्काले वर्तमान समयमा किशोरी तथा महिलामाथि हुने हिंसा, दुर्व्यवहार र असुरक्षाका घटनाहरू बढ्दै गइरहेको अवस्थामा आत्मरक्षा सम्बन्धी तालिम अत्यन्त आवश्यक भएको बताउनुभएको छ । उहाँले आत्मरक्षा भनेको केवल शारीरिक प्रतिकार मात्र नभई मानसिक रूपमा सचेत, आत्मविश्वासी र सजग बन्ने प्रक्रिया पनि भएको उल्लेख गर्नुभयो । कार्यबाहक प्रमुख खड्काले किशोरीहरूलाई आफ्नो सुरक्षाप्रति सधैं सचेत रहन आग्रह गर्दै कुनै पनि हिंसा, दुर्व्यवहार वा गलत गतिविधि सहेर नबस्न सुझाव दिनुभयो । “आफूमाथि अन्याय भयो भने डराएर चुप लागेर बस्ने होइन, साहसका साथ आवाज उठाउनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले विद्यालय, घर, सार्वजनिक स्थान तथा सामाजिक सञ्जालको प्रयोग गर्दा समेत सतर्कता अपनाउन किशोरीहरूलाई आग्रह गर्नुभयो । अहिलेको समयमा प्रविधिको दुरुपयोगका कारण साइबर हिंसा र सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार बढ्दै गएको उल्लेख गर्दै उहाँले अपरिचित व्यक्तिसँग अनावश्यक सम्पर्क नगर्न, व्यक्तिगत जानकारी सहजै साझा नगर्न तथा कुनै समस्या परेमा अभिभावक वा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराउन सुझाव दिनुभयो । कार्यबाहक नगर प्रमुख खड्काले आत्मरक्षा तालिमले किशोरीहरूमा आत्मविश्वास बढाउने, आकस्मिक परिस्थितिमा आफूलाई सुरक्षित राख्ने क्षमता विकास गर्ने तथा कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन सिकाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिमबाट सिकेका सीप व्यवहारमा लागू गर्न र अन्य साथीहरूलाई समेत जानकारी गराउन आग्रह गर्नुभयो ।
तालिममा सामुदायिक विद्यालयका ५० जना किशोरीहरूको सहभागिता रहेको छ । सहभागीहरूलाई आत्मरक्षासम्बन्धी आधारभूत अभ्यास, संकटको समयमा अपनाउनुपर्ने सावधानी, शारीरिक तथा मानसिक सुरक्षा तथा हिंसाबाट जोगिने उपाय लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ । तालिमको मुख्य प्रशिक्षकमा बालिका चौधरी र सहायक प्रशिक्षकमा पदमा चौधरी रहनु भएको छ । कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहायक शिक्षा अधिकृत अम्बिका शर्माले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।



लाइभदाङ । २४ बैशाख २०८३, बिहीबार २१:४३ बजे