
सल्यान,२५ वैशाख ।
सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा शुक्रबार ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर दिउँसो करिब १ः३० बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय १७ वर्षीय प्रदीप विकलाई उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा पुर्याइएको थियो । स्वास्थ्यकर्मीले उनलाई दिउँसो १ः५० बजे मृत घोषणा गरेका हुन् । दुर्घटनामा परी ट्याक्टरमा सवार १७ वर्षीय टेकबहादुर विक सामान्य घाइते भएका छन् । २२ वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



लाइभदाङ । २५ बैशाख २०८३, शुक्रबार १७:२८ बजे