
प्युठान, ११ फागुन।
प्युठानमा मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको खुलेको छ ।
मृत भेटिएको जानकारी पाएपछि घटनास्थल पुगेर अनुसन्धान गरेको प्रहरीले हत्या भएको निष्कर्ष निकालेर अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी दिपेश बस्यालले मृत फेला परेका दम्पत्तिको हत्या भएको खुलेको बताए ।
शनिबार दिउँसो साढे १२ बजेतिरको समयमा माण्डबी गाउँपालिका–२ रातापानीमा ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीय हुकमा परियार मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर आएको आएको थियो ।
छिमेकीले टेलिफोनमार्फत जानकारी गराएपछि स्थानीय प्रहरी चौकी तिरामबाट प्रहरी खटिएको थियो । पछि जिल्लाबाट डीएसपी बस्यालको टिम अनुसन्धानका लागि खटिएको थियो ।
बारीमा भेटियो रगत लतपतिएको घन
दम्पती हत्याको अनुसन्धान गरेको प्रहरीले बारीबाट घन फेला पारेको छ । घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेको हो । योसँगै हत्याराले घन प्रहार गरेर हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डीएसपी दिपेश बस्यालका अनुसार मृत भेटिएका दम्पतीको टाउको क्षतविक्षप्त अवस्थामा हुनु र बारीमा घन भेटिनुले हत्याराले घन प्रयोग गरेको हुनसक्छ । अनुसन्धानको क्रममा टाउकामा प्रहार गरेर विभत्स तरिकाले हत्या गरेको देखिएको डीएसपी बस्यालले बताए ।



लाइभदाङ । ११ फाल्गुन २०८१, आईतवार १२:१० बजे