जाजरकोट , १ मंसिर । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका ४ जिरीका नरेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । कार्की र सिंहमा दमको समस्या रहेको जनाइएको छ । कार्कीकोे गएको मङ्गलबार र सिंहको बुधबार मृत्यु भएको स्थानीयबासीको भनाइ छ । भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा यसबाट बढी प्रभावित भएका छन् ।
बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको छ । गत साता नलगाड नगरपालिका ४ मा चिसोका कारण दुई जना दीर्घरोगीको मृत्यु भएको थियो । तत्काल पाल, टेन्टको व्यवस्थापन भए पनि अब न्यानो कपडा र उचित खानपानको व्यवस्थापन हुनुपर्ने नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताउनुभयो । आज दैविप्रकोप उद्धार समितिको वैठक वस्ने र थप राहत तथा आवश्यक कार्यका लागि निर्णय लिइने जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।
लाइभदाङ । १ मंसिर २०८०, शुक्रबार ०९:५४ बजे