ड्यामका नाममा जग्गा हड्प्न थालेपछि निर्माणको काम ठप्प

दाङ,१४ फागुन ।
दाङको शान्तिनगर गाउँपालिका वडा नं.३ भित्रि खोलामा सुरु भएको ड्याम निर्माणको काम रोकिएको छ । शिवबहादुर घर्तीको पूर्जा भएको जग्गामा ड्याम निर्माण हुन लागेपनि त्यो जग्गाको मुआब्जा नदिएपछि काम रोकिएको हो । गएको पुस अन्तिम सातादेखि सुरु भएपनि अहिले जग्गाको मुआब्जा नपाउँदा जग्गा धनीले ड्याम निर्माण कार्य रोकिदिएका छन् । ड्याम निर्माणकालागि घर्तीले आफ्नो ४ कठ्ठा १६ धुर जग्गा उपलब्ध गराएका थिए । जसमध्ये डेढ कठ्ठा जग्गा निःशुल्क उपल्ब्ध गराएको र बाँकी जग्गा मुआब्जा पाउने गरि उपलब्ध गराएको भएपनि अहिले मुआब्जा नपाएपछि काम रोक्नु पर्ने अबस्था आएको घर्तीले बताए ।‘हाम्रो ठाउँमा हुने विकास हो, त्यसमा मैले सहयोग गर्नु पर्छ नै, विकासकै लागि भनेर मैले डेढ कठ्ठा जग्गा पनि उपलब्ध गराएँ’,उनले भने‘बाँकी जग्गाको मुआब्जा दिने कुरा हो, तर अहिले ऐलानी जग्गा लैजाउ भन्छन् ।’ आफूले प्रति जग्गा दिने र लैजादा ऐलानी लैजाउ भन्न नसुहाउने उनको भनाई छ । त्यति मात्रै होईन्, सम्झौता गरेको भन्दा दुई गुना बढि जग्गा मिचिएको छ । अहिले त्यहाँ उनीहरुको १० कठ्ठा जग्गा मिचिएको बताउछन् ।‘हामीले दिएको चार कठ्ठा ६ धूर हो’,उनले भने‘अहिले त १० कठ्ठा भन्दा बढि जग्गा मिच्दै लिएका छन् ।’

पहिले आफूहरुलाई मुआब्जा दिने भनि प्रलोभनमा देखाएको उनका छोरा भिपेसले गुनसाो गरे ।‘हामीले गरेको सम्झौता भन्दा बढि जग्गा दावी गर्नु हुन्छ’,उनले भने‘पहिले सम्झौता गर्दा धेरै प्रलोभनमा पारे, अहिले सम्झौता भाएको भन्दा बढि जग्गा दावी गर्नुहुन्छ ।’ आफूहरुलाई ड्याम बनेपछि १५ लाख कठ्ठा जान्छ, भनेर आस्वासन दिएको समेत बताए । साथै माथि ड्याम र तल आफुहरुको घर रहेको हुँदा ड्याम फुटेमा घरलाई नै जोखिम पार्न सक्ने समेत उनको भनाई थियो ।‘गएको बर्ष मात्रै तल एउटा ड्याम बनेको थियो, त्यो एक बर्ष नहुँदै भत्किएको थियो’,उनले भने‘यो ड्याम पनि भत्किदैन भन्ने ग्यारेन्टी छैन, त्यसैले हाम्रो सुरक्षाको ग्यारेन्टी कसले लिन्छ ।’

स्थानीयका अनुसार ड्याम भत्किदा एक ब्यक्तीलाई बगाएको थियो । प्रति जग्गाको सट्टा आफूहरुलाई प्रति जग्गा नै चाहिने समेत उनीहरुको माग छ । घरमा पनि दुईजना अपाङ्ग ब्यक्ती भएकाले काम गरि खान सक्ने अबस्था पनि नरहेको भन्दै आफ्नो छाकबासको उचित ब्यबस्थापन गरिदिनुपर्ने उनीहरुको माग छ । त्यहाँ ड्याम निर्माणकालागि यो बर्ष संघीय सरकारले ५ लाख मात्रै बजेट हालेको छ । गएको बर्ष त्यहाँ ड्याम निर्माणको लागि डीपीआर तयार भएको थियो । त्यो डीपीआर अनुसार त्यहाँ ड्याम बनाउने र लिफ्ट गर्ने योजना छ । त्यसकालागि ३ करोड ५४ लाख ९६ हजार बजेट लाग्नेछ । यो आर्थिक बर्षमा ५ लाख मात्रै बजेट आएको भएपनि त्यहाँ थप्नकालागि पहल भइरहेको बृहत दाङ उपत्यका सिंचाई डिभिजन कार्यालय दाङका सवईञ्जिनियर सञ्जयकुमार यादवले बताए । उनका अनुसार त्यहाँ जग्गा धनीले असन्तुष्टि जनाएपछि काम रोक्न लगाईएको हो ।

स्थानीय तह र त्यहाँ उपभोक्ताबीच सहमति भएमा निर्माणको कार्य पुनः सुरु गर्न सकिने उनले बताए ।‘सिंचाईकालागि मुआब्जा दिने ब्यबस्था छैन’,उनले भने‘त्यहाँको स्थानीय सरकार र उपभोक्ताहरुबीच सहमति भएमा मात्रै हामीले काम सुरु गर्छौं ।’


शान्तिनगर गाउँपालिका वडा नं. ३ का अध्यक्ष बुद्धिराम तिवारीले सम्झौता अनुसार नै काम भएको बताएका छन् । उनका अनुसार ४ कठ्ठा १६ धुर भन्दा बढि जग्गा पनि नमिचिएको र त्यो भन्दा पश्चिम तर्फ रहेको ऐलानी जग्गा उपलब्ध गराउने सहमति भएको बताए । त्यति मात्रै नभई एक जना अपाङ्गता भएको छोरा रहेको र उनलाई १ बर्षसम्म कम्प्युटर तालिम उपलब्ध गराउने, चौकिदार राखिदिने, माछा पालनकालागि सहयोग गर्ने गरि सहमति भएको बताए ।

त्यस्तै जग्गाको मुआब्जा भनेर चारलाख दिने समेत सहमति भएको बताए । त्यही अनुसार काम भइरहेको उनको भनाई छ । त्यस्तै त्यहाँ ड्याम निर्माण गर्दा गहुँमा पनि क्षति भएकाले १० मुरी गहुँ उपलब्ध गराउने समेत सहमति भएको भन्दै हाल देखिएको समस्या तत्काल समाधान गरेर काम अघि बढाउने समेत बताए ।
त्यहाँको ड्याम निर्माण कार्य रोकिएपछि राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले चासो समेत देखाएका छन् । ड्याम निर्माण स्थलमै पुगेर अवलोकन गर्नुकासाथै दुबै पक्षसंग छलफल समेत गरेका थिए । त्यस क्रममा उनले निर्माणमा देखिएका अबरोध तत्काल समाधान गरेर काम अगाडी बढाउनु पर्ने बताए । त्यसकालागि दुबै पक्ष सन्तुष्ट हुने खालको वातावरण तयार गर्नुपर्ने समेत बताए ।