तुलसीपुरमा मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा तीन जना घाइते

दाङ, ९ फागुन । तुलसीपुरमा शुक्रबार बिहान मोटरसाइकलले स्कुटीलाई ठक्कर दिँदा एक पैदलयात्रीसहित तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर–६ का १७ वर्षिय दिपक वली, स्कुटी चालक तुलसीपुर–६ कै १८ वर्षिय निरज रोका र पैदलयात्री सल्यानको त्रिवेणी गाउँपालिका–६ घर भई हाल तुलसीपुर–६ बस्ने १७ वर्षकी मनिषा बुढा रहेको प्रहरीले जनाएको छ ।

महेन्द्र स्कुलतर्फ जाँदै गरेको भे ७ प ७५९२ नम्बरको मोटरसाइकलले सोहि दिशातर्फ जाँदै गरेको रा ७ प ४०३४ नम्बरको स्कुटीलाई तुलसीपुर–६ गोर्खा बोर्डिङ स्कुल नजिकै ठक्कर दिएको हो ।


स्कुटीसंग ठोक्किएको मोटरसाइकल अनियन्त्रित भई ४० मिटर टाढा रहेको दाङ भ्याली स्कुलतर्फ आउँदै गरेको सोहि स्कुलको रा १ क ६४३ नम्बरको बससंग ठोक्किन पुगेको थियो ।

घाइते सबैको अवस्था सामान्य रहेको छ । घाइते सबैको राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।