
तुलसीपुर, ८ फाल्गुन ।
सल्यानका बलदिप केसी सहीदको सन्तान हुन् । उनको साहारा अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ स्थित सहीद स्मृति आवासिय मावि बनेको छ । ८ वर्षको हुँदा २०७२ सालदेखि उनी यस स्कुलमा पढ्न थालेका थिए । उनी हाल कक्षा ११ मा पढ्छन् । पढ्ने मात्रै हाईन्, आवासीय रुपमै बस्दछन् ।
आफू एउटा अवोध भएपनि यस विद्यालयले आफूलाई पढाई मात्रै नभई शाहारा दिएको उनी बताउछन् ।“यो विद्यालयमा आश्रय लिने म मात्रै थिएन । म जस्ता ४ सय जना विद्याथी थियौ”,उनले भने “हामी सबैको कथा एउटै थियो । कथा भित्रको ब्यथा भने अलि फरक थियो । कसैका वुवा, कसैका आमा त कसैले आमावुवा नै गुमाएका थियौैँ, यसले हामीलाई भावनात्मक पनि बनायो ।”
यसरी सहीद परिवारकै सन्तानसंग बस्दा टाढा भएको अनुभूति नभएको उनको भनाई छ । अभिभावकबाट टाढा भएपनि त्यसको महशुस नभएको उनको भनाई छ ।“खान पकाएर दिने अंकल अन्टी हुनुहुन्छ, भगवानरुपी गुरुहरु हुनुहुन्छ, यसले हामीलाई घरमा बसेकै जस्तो महशुस बनाउछ”, उनले भने ।
त्यस्तै प्यूठानकी सीता जीसी पनि २०७८ सालमा सोही विद्यालयमा आईन् । हाल उनी सोही विद्यालयमा कक्षा १० मा पढ्छिन् । उनले पनि यो विद्यालय आफ्नो छहारी भएको बताईन् । “यो विद्यालय नभएको भए हामी अभिभावक विहीन भएकाहरु पढ्न पाउथ्यौं की पाउँदैनथ्यौं”, उनले भनिन् “अहिले यो विद्यालय भएर हामीले सुविधा पायौं ।”
उनीहरु मात्रै होईन्, यस विद्यालयमा ५ सय ७८ जना विद्यार्थीहरुलाई साहारा दिएको छ । ति मध्ये ३ सय ८२ जना आवासीय रुपमा बसिरहेको विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले बताए । त्यस्तै सिटिइभिटीमा एकसय ७ जनाले अध्ययन गरिरहेका छन् ।
कक्षा १ देखि १२ सम्म उक्त विद्यालय सञ्चालित छ । १० वर्षे जनयुद्ध तथा जनआन्दोलनका सहीद तथा घाईते परिवारका छोराछोरीलाई उक्त विद्यालयमा पढाउने गरिन्छ । त्यति मात्रै होईन्, पालन पोषण पनि त्यही नै गरिन्छ ।त्यही विद्यालय परिवारको पीडा भुलाउने माध्याम बनेको छ। २०६६ सालमा जनकल्यान मावि दुधराससंग सहकार्य गरि उक्त विद्यालय सञ्चालनमा आएको हो । सोही विद्यालयमा आवासिय र शैक्षिक कार्यक्रमकालागि सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ । साविकका पाँच विकास क्षेत्र मध्ये प्रत्येकमा एउटा यस्तो विद्यालय सञ्चालनमा थियो । त्यही मध्ये साविक मध्यपश्चिमाञ्चल अन्तरगत यो विद्यालय खुलेको हो । हाल विभिन्न १६ जिल्लाका द्वन्दपीडित विद्यार्थीहरुले पठन–पाठन गरिरहेका छन् ।
विद्यालयमा सीटीइ–भिटी अन्तर्गत ३ वर्षे सिभिल इन्जिनियरिङ कोर्ष पनि भइरहेको छ । यस विद्यालयबाट हालसम्म ६ सय २९ विद्यार्थीले कक्षा १२ सम्मको अध्ययन पूरा गरिसकेका छन्, भने सिटिइभिटी अन्तर्गत ३३ जना उतिर्ण भएका छन् । विद्यालयमा हाल ४१ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । सोही विद्यालयमा अंग्रेजी माध्यामबाट पठन–पाठन भइरहेको छ ।
उच्च शिक्षा नहुँदा समस्या
द्वन्दपीडित परिवारका विद्यार्थीहरुले उच्च शिक्षा पढ्ने वातावरण मिलाउनु पर्ने बताएका छन् । सरकारले कक्षा १२ सम्म पढ्ने निःशुल्क पठन–पाठनको व्यवस्था गरेको भएपनि त्यो भन्दा माथिल्लो शिक्षा पढ्न नपाउँदा धेरै द्वन्दपीडित विद्यार्थीहरु पढाई छोड्ने गरेको भन्दै त्यो भन्दा माथिल्लो शिक्षा पनि निःशुल्क गराउनु पर्ने विद्यार्थीहरुको माग छ । “सरकारले १२ सम्म निःशुल्क पठन–पाठनको व्यवस्था त गरेको छ”,विद्यार्थी पर्सुराम पुनले भने “त्यतिले मात्रै हुँदैन, हाम्रा अभिभावक हुनुहुदैन्, हामीलाई माथिल्लो शिक्षा कस्ले दिन्छ, त्यसैले हामीलाई निःशुल्क शिक्षाको व्यवस्थापन गर्नुपर्छ ।”
साथै उनले अभिभावक भनेको पार्टी पनि रहेको भन्दै पार्टी विभाजनले आफूहरू जस्ता शहीद परिवारहरूलाई दुःखी बनाएको बताए । माओवादी टुटफुट हुँदा शहीदका सपनाहरू अझै पूरा हुन नसकेको उनको भनाई छ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । ८ फाल्गुन २०८१, बिहीबार ०९:३० बजे