गोरखाका विद्यार्थीले देखाएका लोभलाग्दा प्रतिभा

तुलसीपुर, ७ फागुन । गोरखा मावि तुलसीपुरले प्राथमिक तहको सिपिएस एण्ड सिपिआरएस सेलिब्रेसन तथा अभिभावक शिक्षा कार्यक्रम गरेको छ । मंगलबार विद्यालयमा भएको उक्त कार्यक्रममा कक्षा प्लेग्रुपदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुले बिभिन्न भेषभुषा, भाषा संस्कृति समेटिएका प्रस्तुती राखेका थिए ।

कोहीले थारु भाषाका नाच देखाएका थिए, भने कोहीले नेवारको त कोहीले मगर भेषभुषा समेटिएका प्रस्तुती राखेका थिए । राष्ट्रिय एकताको भाव समेटिएका प्रस्तुतीहरु पनि थिए । त्यति मात्रै होईन्, विद्यार्थीहरुले आफ्नो बोल्ने कला पनि प्रस्तुत गरेका थिए ।

केही विद्यार्थीहरुले बिभिन्न प्रदर्शनी पनि राखेका थिए । दैनिक जीवनमा आबश्यक पर्ने कुराहरुसहित विज्ञानप्रबिधिका कुराहरु पनि प्रदर्शनीमा राखिएको थियो ।
विद्यार्थीहरुलाई अतिरिक्त तथा सीप मुलक ज्ञान दिनकालागि गोरखाले यो कार्यक्रम सञ्चालन गरेको हो ।


१ हजार २ सय ४६ जना बालबालिकाहरु सबैले आफ्ना प्रतिभा देखाएका थिए । गोरखा मावि तुलसीपुरका शैक्षिक निर्देशक दुर्गा बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा लावन्य इन्टरन्टेश्नलका निर्देशक पुजा शाहले प्रशिक्षणात्मक मन्तव्य दिएकी थिइन् ।

उनले विद्यार्थीहरुले देखाएको प्रतिभाबाट प्रभावित भएको र यस्तो शिक्षा आबश्यक रहेको बताईन् । कार्यक्रममा गोरखा मावि तुलसीपुरका प्रधानाध्यापक विजय जीएमलगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका प्राथमिक तह संयोजक कमल भण्डारी र पुर्व प्राथमिक तह संयोजक मेनुका चौधरीले गरेकी थिइन ।