
तुल बहादुर कवँर मगर
मसुरीया, १ फागुन।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा फोहोरमैला व्यवस्थापन तथा सरसफाइ रनिङ शिल्डसम्बन्धी वडा स्तरीय अन्तरक्रिया कार्यक्रम बिहीबार सम्पन्न भएको छ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश अधिकारीले सरसफाइलाई व्यक्तिगत आनीबानीसँग जोडेर लैजान आवश्यक रहेको बताउनुभयो ।
वडाले सरसफाइ र फोहोरमैला व्यवस्थापनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउदै अध्यक्ष अधिकारीले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।



त्यस्तै उहाँले यस वर्ष वडाले विभिन्न स्थानमा डस्ट बिन राख्ने योजना अघि बढाइएको जानकारी दिनुभयो । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वास वि.क.ले शरीरको फोहोर व्यवस्थापन गरे जसरी घर र समाजकाे फोहोरमैला पनि व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा पालिकाका रोजगार शाखा प्रमुख तथा वातावरणविद् मुमाराम भुसालले फोहोरमैला व्यवस्थापन तथा सरसफाइ रनिङ शिल्डसम्बन्धी प्रस्तुति दिनुका साथै पालिकाले हालसम्म गरेका कार्यहरूको जानकारी गराउनुभयो।
उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरू, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, बुद्धिजीवी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरीले गर्नुभएको थियो।
लाइभदाङ । १ फाल्गुन २०८१, बिहीबार १९:०५ बजे