
दाङ थारु समुदायको इतिहास बोकेको ठाउँ हो । थारु राजा दंगीशरणले दाङमै राज गरेकाले पनि ऐतिहासिक मानिएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ सुकौरामा थारु राजाले राज गरेको भएपनि ऐतिहासिक महत्व बोकेको त्यो स्थान अहिले ओझेलमा छ । इतिहास नै नामेट हुने अवस्था छ । त्यसलाई एउटा पर्यटकीय स्थल बनाउनु पर्ने हो । त्यो अनुसारको संरचना तयार गर्नुपर्ने हो । त्यसो छैन । उक्त स्थानमा रहेका भगनावशेष पनि लोप हुने अवस्थामा छन् ।
त्यसलाई दाङसहितका थारु समुदायले आदर्श मान्ने पनि गरेका छन् । त्यहाँ संग्राहलय निमाण गर्नुपर्ने कुरा पनि पटक–पटक उठ्ने गर्छ । तर, संग्राहलयको त टाढाको कुरा हो । त्यहाँको संरचनालाई संरक्षण गर्नेसम्मको काम पनि भएको छैन । अहिले त्यहाँ एउटा भ्यूटावर छ, त्यो पनि सञ्चालनमा छैन । दंगीशरण राजाको प्रतिमा बनेको भएपनि त्यसको संरक्षण छैन । हरितगृहको अवस्था पनि नाजुक छ । जो पायो त्यही भित्र छिर्ने गर्छन् । त्यहाँको संरक्षणको अवस्था पनि नाजुक छ । यही दंगीशरण कै नाममा चखौरालगायतका स्थानमा करोडौं खर्च आएको छ । तर, त्यो सुकौरामा न्यून बजेट हुन्छ, त्यो पनि खर्च हुँदैन । उल्टै त्यहाँ आएको बजेट अन्यत्रै सार्ने काम समेत हुन्छ ।
इतिहास भनेको इतिहास नै हो । त्यसको संरक्षणण गरे, त्यहाँको पर्यटकीय विकास हुन्छ । पर्यटकीय विकास भए, आर्थिकसंग पनि जोडिन्छ । तर, इतिहास नामेट पारेर आफ्नो व्यवसाय चलाउने गरि जुन गतिविधि भइरहेका छन्, यसले समग्र थारु समुदायको भावनामाथि नै चोट पु¥याउछ । अहिले जसरी यस क्षेत्रका थारु अगुवा तथा राजनीतिक रुपमा पनि नेतृत्व गरिरहेका नेताहरुले ध्यान दिनुपर्छ । सुकौराको नाममा अन्य ठाउँमा बजेट लिएर आफ्नो व्यवसाय चलाउने कुराले राम्रो सन्देश दिदैन । यो विषयमा सबै थारु अगुवाहरुले गम्भीर ध्यान दिनुपर्ने बेला आएको छ । अन्यथाः थारुको एउटा इतिहास मेटिएर जानेछ । साभारः अग्रिम साप्ताहिक



लाइभदाङ । २८ माघ २०८१, सोमबार ०८:५८ बजे