लुम्बिनी प्रदेशका सहकारी वर्गीकरण गरिदै 

तुलसीपुर, २२ माघ ।
लुम्बिनी प्रदेश सरकारले सहकारी वर्गीकरण गर्न थालेको छ । विभिन्न पाँच भागमा सहकारी वर्गीकरण गर्न लागेको लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले बताए । उनका अनुसार विभिन्न ५२ वटा सूचकका आधारमा सहकारीलाई वर्गीकरण गर्न लागिएको हो । “राम्रो सहकारी र नराम्रो सहकारीलाई एउटै ठाउँमा राख्न मिल्दैन”, उनले भने “सोही अनुसार सहकारीलाई वर्गीकरण गर्ने योजना बनाएका हौं ।”

पिइएआरएलएस(प्रल्स) अनुगमन प्रणालीका १४ वटा सूचक, एमसीआई सदस्य केन्द्रीयता सूचांकका ३ वटा सूचक र सहकारी कानुनसंग सम्बन्धित शुसासनका ३५ वटा सूचक गरि ५२ वटा सूचकका आधारमा वर्गीकरण गर्न लागेको हो । सहकारीमा ऋण सुरक्षणको अवस्था, भाका नाघेको ऋणको अवस्था, वार्षिक साधारणसभा, लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण, सम्पति सुद्धिकरण निवारण, कार्यविधि निर्माण, सेवा, बचत र सदस्यको अनुपात, पूँजीको अनुपातलगायतका बिषयहरुलाई आधार मानेर सूचिकृत गर्न लागिएको उपाध्यक्ष पोख्रेलको भनाई छ । वर्गीकरणकालागि सबै सहकारी संस्थालाई पत्राचार गरिएको छ । त्यस्तै लुम्बिनीका १२ वटै जिल्लामा प्रदेश मातहतका ५० जना कर्मचारीलाई परिचालन समेत गरिएको छ ।  सबै कर्मचारीलाई तालिम दिएर जिल्ला–जिल्लामा खटाईएको हो ।


लुम्बिनीमा प्रदेश स्तरीय ८ सय ४८ वटा सहकारी रहेका छन् । पहिलो चरणमा प्रदेश स्तरीय सहकारीलाई वर्गीकरण गर्ने र त्यसपछि प्रदेश भित्र रहेका स्थानीय स्तरका सहकारीको पनि वर्गीकरण गरिने उपाध्यक्ष पोख्रेलको भनाई छ । हाल लुम्बिनीमा ४ हजार बढि स्थानीय सहकारी छन्  । साभारः अग्रिम साप्ताहिक